काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का नेतृत्वलाई आगामी मंसिरभित्र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्ने गरी छिटो र प्रभावकारी तयारी गर्न निर्देशन दिएका छन्।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको छलफलमा प्रधानमन्त्री ओलीले सन् २०२६ मा जापानमा हुने एसियाली खेलकुदअघि आयोजना हुने राष्ट्रिय खेलकुदको तयारी थाल्न निर्देशन दिएका हुन्।

उनले प्रतियोगिताको मिति र स्थान राम्रोसँग अध्ययन गरेर मात्र निर्णय गर्न र एकपटक निर्णय गरेपछि परिवर्तन नगर्न पनि आग्रह गरे। परिषद्का संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रालय र परिषद्को नेतृत्वबीच उचित समन्वय हुनुपर्नेमा पनि जोड दिए।

छलफलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, सदस्यसचिव टंकलाल घिसिङ लगायतको सहभागिता थियो।

14
Shares
१२ श्रावण २०८२, सोमबार १५:५४