नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देशमा लोडसेडिङ नभएको स्पष्ट पार्दै, चितवनमा देखिएको समस्या प्राविधिक कारणले भएको बताएका छन्। भरतपुरमा पत्रकारसँग कुरा गर्दै उनले बोरिङ, बढ्दो लोड र जीर्ण वितरण प्रणालीका कारण लाइन जाने समस्या देखिएको तर त्यसलाई लोडसेडिङको रूपमा प्रचार गरिएको गुनासो गरे।
उनले चितवनको समस्या मंगलबार साँझभित्र समाधान हुने दाबी गर्दै हर्दीमा जडान गरिएको २४ एमभीएको ट्रान्सफर्मर परीक्षण सफल भएको बताए। अब चितवनका भण्डारा, टाँडी, चैनपुर र माडी क्षेत्रको विद्युत् आपूर्ति नयाँ संरचनामार्फत सहज बनाइने योजना रहेको छ।
शाक्यले लोडसेडिङको झल्को दिने सूचना दबाबका कारण आएको भन्दै त्यस्ता कार्यले गलत सन्देश दिएको उल्लेख गरे। उनले किसानहरूले साँझ एकै समयमा बोरिङ चलाउँदा लोड थाम्न गाह्रो भएको र समाधानका लागि वितरण प्रणाली स्तरोन्नति गरिने जानकारी दिए।