काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपालका माफिया, तस्कर र देशको हित विपरीतका कार्यमा संलग्न नेताहरूको मुखुण्डो उदाङ्गो पारेका कारण आफू कारागारमा रहेको बताएका छन्। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजकसमेत रहेका प्रसाईंले कारागारबाट देशवासीका नाममा एक अपील जारी गर्दै चैत १५ गतेको आन्दोलनका कारण मात्रै आफू कारागारमा नरहेको दाबी गरेका छन्।

उनले भनेका छन्, ‘हाल म नेपाल सरकार, नेपालका अनेक क्षेत्रका माफिया, तस्कर, देशहितविपरीतका काममा व्यस्त राजनीतिज्ञको मुकुण्डो उदाङ्गो पारेका कारण कारागार जीवन बाँचिरहेको छु। तपाईंलाई यो नलागोस् कि म यहाँ बाँचिरहेको मात्र छु, म त यहाँ आगामी यात्राको योजना बनाउँदै छु।’

चैत १५ गतेको आन्दोलनका क्रममा तीनकुनेमा आफू नपुग्दै प्रहरीले अश्रुग्यास र गोली चलाएर ‘कुरुक्षेत्र’ बनाइसकेको उनको भनाइ छ। उनले आफूलाई सिध्याउने योजना बनेको बुझेपछि गाडी प्रहरीतर्फ हुइँकाएको र शान्त रहनुहोस् भन्नुबाहेक केही नगरेको  बताएका छन्। उनले धर्मनिरपेक्षताका कारण देश बिना मियोको दाईं बनेको बताएका छन्। मुलुकलाई राजतन्त्रात्मक शासन व्यवस्थायुक्त बनाएरै छाड्न उनले दाबी गरेका छन्।

बैंकको ऋणबारे प्रसाईंले आफूले सम्पत्ति धितो राखेर ऋण लिएको र नियमित किस्ता बुझाइरहेको बताए। यदि यस्तो नभएको भए आफूलाई सिध्याउन लागेको राज्यसत्ताले अहिलेसम्म कालोसूचीमा राखिसक्ने तर्क उनको छ।

प्रसाईंले आफू देशमा स्थायित्व, शान्ति र गरी खान रुचाउने मान्छे भए पनि आज हातखुट्टा बाँधिएको कैदी दुखेसो गरे। सबै नेपालीले सन्तानसँग जीवन जिउन पाउन् भन्ने कामना गर्दै उनले आफ्नो नाति र डाक्टर बनेर फर्किँदै गरेकी छोरीलाई भेट्न नपाउँदाको पीडा व्यक्त गरेका छन्।
35
Shares
१२ श्रावण २०८२, सोमबार ०८:१४