‘क्रान्तिकारी कम्युनिस्ट युवाहरू राष्ट्र निर्माणका अगुवा शक्ति हुन्’ भन्ने नारालाई आत्मसात् गर्दै वाईसीएलले प्रदेशका विभिन्न जिल्लामा वृक्षारोपण, सरसफाइ, सडक मर्मत, र बाँध निर्माण जस्ता सामाजिक कार्यहरूलाई अघि बढाएको छ । अभियानको मुख्य उद्देश्य युवाहरूमा श्रम संस्कृतिको विकास गर्ने र उनीहरूलाई उत्पादनसँग जोडेर राष्ट्र निर्माणमा सहभागी गराउनु रहेको छ ।
अभियान अन्तर्गत वाइसीएल नेपाल ताप्लेजुङ जिल्ला समितिले श्रीजङ्घा गाउँपालिकाको मामाङ्खे र पेदाङमा एक हजारभन्दा बढी फलफूल तथा अन्य प्रजातिका बिरुवा रोपेको छ । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेलप्रसाद बुढाथोकी (पराग) लगायत वाईसीएलका केन्द्रीय तथा जिल्लास्तरीय नेताहरूको उपस्थितिमा सयौँ युवाहरूले वृक्षारोपण कार्यक्रममा सहभागिता जनाएका थिए ।त्यसैगरी, झापामा पनि वाईसीएलले बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ स्थित बौद्ध दाहसंस्कार व्यवस्थापन समिति चिलिमघाटमा बृहत् सरसफाइ कार्यक्रम आयोजना ग¥यो । स्थानीय पार्टी नेता–कार्यकर्तासहित २७० जनाभन्दा बढीको सक्रियतामा २५० भन्दा बढी बिरुवा रोपिएको छ । कार्यक्रममा पार्टीका जिल्ला संयोजक राजु आचार्य, प्रदेश सदस्य रोशन तिम्सिना लगायतका नेताहरूको उपस्थिति थियो ।
खोटाङमा वाईसीएलले हलेसीको होलेसुङ जनकराज राई मार्गको करिब १३ किलोमिटर सडकको खाल्डाखुल्डी पुर्ने र झाडी सफा गर्ने काम गरेको छ । जसले स्थानीयको यातायातमा सहजता ल्याएको छ । यसका साथै, हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिमस्थित गणेशटार खेलमैदानलाई पहिरोबाट जोगाउन बाँस, निलकाँडा जस्ता ५०० भन्दा बढी बिरुवा रोपिएको छ ।वाईसीएल खोटाङका इन्चार्ज किसन राईले अभियानले युवाहरूलाई श्रमको महत्व बुझाउँदै उत्पादनशील कार्यमा संलग्न गराउने लक्ष्य राखेको बताए । तीन दिनसम्म चलेको श्रमदानमा ११० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
उदयपुरमा वाईसीएलले अभियानलाई थप व्यवस्थित बनाउँदै हरेक शनिबारलाई ‘श्रमबार’ का रूपमा मनाउने निर्णय गरेको छ । जिल्लाले विभिन्न स्थानमा बृहत् सरसफाइ र वृक्षारोपण कार्यक्रमहरू सम्पन्न गरेको छ । जसमा त्रियुगा नगरपालिकास्थित बैथुम्की डाँडा हिल स्टेसन, चुरे मन्दिर परिसर र मैनाहा क्षेत्र समावेश छन् । सबैभन्दा महत्त्वपूर्ण कार्यका रूपमा त्रियुगा–१ स्थित मैनाहा खोलामा बाँध निर्माण गरिएको छ ।
बर्सेनि बाढीले जनधनको क्षति गर्ने उक्त खोलामा बाँध निर्माण भएपछि स्थानीयलाई ठूलो राहत मिलेको छ । बाँध निर्माणमा वाईसीएलका निवर्तमान केन्द्रीय उप–महासचिव एबिराज राईलगायत २०० भन्दा बढी युवाहरूको सहभागिता थियो ।
पाँचथर जिल्लामा वाईसीएलले अभियानको औपचारिक उद्घाटन अघिदेखि नै श्रमसम्बन्धी कार्यहरू गर्दै आएको छ । यसवर्ष मात्रै स्कुल तथा गुम्बा सरसफाइ, किसानलाई धान रोप्न सहयोग, वृक्षारोपण, खेलमैदान मर्मत जस्ता दर्जनौं कार्यक्रमहरू सम्पन्न गरिसकेको छ । जसले संगठनको निरन्तर क्रियाशीलतालाई दर्शाउँछ ।
समग्रमा वाईसीएल नेपालले प्रदेश १ मा आफ्नो ‘श्रम तथा उत्पादन’ अभियानमार्फत सामाजिक कार्यहरूमा दर्बिलो उपस्थिति जनाउँदै युवा शक्तिलाई राष्ट्र निर्माणमा परिचालन गर्न सफल देखिएको छ ।