विराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा रङ्गेली नगरपालिका–५ का समाजसेवी धर्मेन्द्र मण्डलको ज्यान गएको छ। मण्डललाई सामान्य अप्रेसनका लागि शुक्रबार अस्पताल भर्ना गरिएको थियो। तर, शनिबार रातिदेखि उनको स्वास्थ्य एक्कासी बिग्रिएपछि गम्भीर अवस्था बनेको र अस्पतालले समयमै उपचार नगरेको आफन्तहरूले आरोप लगाएका छन्। उनी ४५ वर्षका थिए।
आफन्तहरूका अनुसार राति धेरै बेरसम्म बिरामीको अवस्था गम्भीर हुँदै गए पनि डाक्टर र नर्सहरूले कुनै चासो नदिएको र समयमै उपचार नगरेकाले ज्यान गएको हो। “गम्भीर अवस्थामा पनि डाक्टरहरू बेवास्ता गरिरहे, हामीले गुहार्दा पनि तत्काल उपचार भएन,” आफन्तले बताए। यसरी लापरवाहीले धर्मेन्द्रको मृत्यु भएको भन्दै परिवार र स्थानीयहरू आक्रोशित बनेका छन्।
धर्मेन्द्र मण्डल समाजसेवामा सक्रिय थिए र स्थानीयस्तरमा सहयोगी व्यक्ति मानिन्थे। उनको अकाल मृत्युले गाउँमा शोकको लहर फैलिएको छ। यो घटनाले केही महिना अघिको अर्को घटनाको पनि स्मरण गराएको छ, जब यही अस्पतालमा रङ्गेलीका अर्का बासिन्दा भागवत चौधरीको पनि यस्तै लापरवाहीले मृत्यु भएको थियो। यस्तो घटनाले अस्पतालप्रतिको जनविश्वास घटाउँदै गएको स्थानीयको गुनासो छ।