काठमाडौं। अमेरिकाको डेन्भर अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एउटा ठूलो हवाई दुर्घटना हुनबाट जोगिएको छ। अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमान उडान भर्नै लाग्दा ल्यान्डिङ गियरमा समस्या देखिएपछि उडान रोकिएको थियो। यस क्रममा विमानको पछाडिको भागमा आगो लागेको थियो। यो विमान मियामीका लागि उडान भर्दै थियो।

अमेरिकी समयअनुसार दिउँसो २:४५ बजे भएको यस घटनामा विमानमा सवार १७३ यात्रु र ६ जना चालक दलका सदस्यहरू सकुशल बाहिर निस्कन सफल भएका छन्। सबैलाई आपत्कालीन स्लाइडको सहायताले विमानबाट बाहिर निकालिएको थियो।

दुर्घटनापछि ६ जनालाई सामान्य चोटपटक लागेको छ, जसमध्ये एक जनालाई अस्पताल भर्ना गरिएको छ। घटनाको विषयमा संघीय उड्डयन प्रशासन (एफएए) र अमेरिकन एयरलाइन्सले अनुसन्धान सुरु गरेका छन्।

यो घटना बोइङ कम्पनीका विमानहरूमाथि प्रश्न उठिरहेका बेला भएको हो। यसअघि जुन १२ मा भारतको अहमदाबादमा एयर इन्डियाको बोइङ ७८७-८ विमान उडान भरेको दुई मिनेटपछि नै दुर्घटनाग्रस्त भएको थियो। उक्त दुर्घटनामा २७० जनाको ज्यान गएको थियो।
63
Shares
११ श्रावण २०८२, आईतवार १२:०५