कार्यक्रममा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले सुनसरीका नवनिर्वाचित अध्यक्ष गोपाल श्रेष्ठसहितको टोलीलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो। उनले मुलुकको अर्थतन्त्रलाई गति दिन दुवै संघले संयुक्त पहल गर्दै मोरङ–सुनसरी औद्योगिक करिडोरमा रहेका उद्योगी-व्यवसायीहरूको हकहितका मुद्दामा सहकार्य गर्नुपर्नेमा जोड दिए।
त्यसैगरी, संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले औद्योगिक विकासका परियोजनाहरू सुस्त हुँदा युवाहरू विदेश पलायन भइरहेकोमा चिन्ता व्यक्त गरे। उनले युवालाई स्वदेश फर्काउन र आर्थिक रूपमा सक्षम बनाउन राज्यले विकासका परियोजना अगाडि बढाउनुपर्ने बताउँदै यसका लागि सबै उद्योग वाणिज्य संघहरूले मिलेर पहल गर्नुपर्ने धारणा राखे।वरिष्ठ उपाध्यक्ष अनिलकुमार साहले दुवै संघको पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने बताए। उनले भारतीय दूतावाससँगको सहकार्यमा मोरङ–सुनसरी करिडोरमा कार्यरत भारतीय कामदारहरूको दर्ता प्रक्रियामा सुनसरी उद्योग वाणिज्य संघलाई पनि सहकार्य गर्न आग्रह गरे। साथै, नेपाल सरकारको एम.आर.पी. (Minimum Retail Price) सम्बन्धी हालको व्यवस्थाका लागि पनि संयुक्त पहल गर्नुपर्नेमा जोड दिए।
यता, सुनसरी उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोपाल श्रेष्ठले मुलुकको जेठो संघको रूपमा रहेको मोरङ उद्योग व्यापार संघलाई आफूहरूले अभिभावकको रूपमा हेर्ने गरेको र राज्यले पनि यसको आवाजलाई गम्भीरतापूर्वक लिने गरेको बताए। उनले मोरङ–सुनसरी करिडोरका उद्योगी–व्यवसायीका समस्या समाधानका लागि गरिने पहलमा आफ्नो पूर्ण ऐक्यबद्धता रहने प्रतिबद्धता व्यक्त गरे।भेटघाटका क्रममा सुनसरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विजय श्रेष्ठले छिमेकी राष्ट्र भारतले औद्योगिक क्षेत्रमा लागू गरेका सफल योजनाहरूको उदाहरण दिँदै नेपालले पनि उद्योगी-व्यवसायीलाई प्रोत्साहित गर्ने खालका योजनाहरू ल्याउनुपर्नेमा जोड दिए।
संघका महासचिव सञ्जय कुमार श्रेष्ठद्वारा सञ्चालित उक्त कार्यक्रममा दुवै संघका पदाधिकारी, कार्यसमिति सदस्य, आमन्त्रित सदस्य, महिला उद्यम समिति सदस्य र युवा उद्यम समिति सदस्य लगायतको उपस्थिति रहेको थियो।