आज पनि बजारमा केही उतारचढाव देखियो। बिहान ११:३८ बजे २९९० अंकमा पुगेको नेप्से दिउँसो १:२३ बजे २९६४ अंकसम्म झरेको थियो।
उतारचढावपूर्ण बजारमा कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो दिन १९ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १८ अर्ब ४९ करोडको कारोबार भयो।आज १२३ कम्पनीको मूल्य बढ्यो भने १२७ को घट्यो। हाइड्रोपावर समूह सबैभन्दा धेरै २.०० प्रतिशतले बढ्यो। यसबाहेक विकास बैंक, होटल तथा पर्यटन, लगानी र व्यापार समूहको मूल्य पनि बढेको छ।
बैंकिङ, फाइनान्स, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य समूहको मूल्य भने घटेको छ।आज हाइड्रोपावर समूहको मात्रै ८ अर्ब ४० करोडको कारोबार भयो, जुन कुल कारोबारको ४५ प्रतिशत हो। बैंकिङ समूहको १ अर्ब ३२ करोड, विकास बैंकको १ अर्ब ८५ करोड, माइक्रोफाइनान्सको १ अर्ब ७९ करोड तथा अन्य समूहको १ अर्ब ९ करोडको कारोबार भयो।
आज चार कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो। ती कम्पनीहरूमा ग्रिन भेन्चर, ट्रेड टावर, सान्भी इनर्जी र स्वेतगंगा हाइड्रोपावर छन्। हिमालयन हाइड्रोपावरको ८.४१ प्रतिशत तथा मायाखोलाको ७.४ प्रतिशत मूल्य बढ्यो।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा राधि विद्युत्, ङादी ग्रुप, ग्रिन भेन्चर, लुम्बिनी विकास बैंक र हिमालयन रिइन्स्योरेन्स छन्। बजारको पूँजीकरण ४९ खर्ब ७७ अर्ब पुगेको छ।