विराटनगर। कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्य सम्पादन सम्झौताको प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। यस समीक्षामा जिल्ला प्रहरी कार्यालय पाँचथर कार्यसम्पादनमा सर्वोत्कृष्ट घोषणा भएको छ।

साउन ७ गते प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा प्रदेश अन्तर्गतका प्रहरी कार्यालय प्रमुखहरूले साउन महिनादेखि असार मसान्तसम्म सम्पादन गरेका कार्यहरूको प्रगति विवरण प्रस्तुत गरेका थिए।

कार्यसम्पादन सम्झौता बमोजिम मातहतका कार्यालयहरूबाट प्राप्त तथ्याङ्क विश्लेषण गर्दा जिल्ला प्रहरी कार्यालय पाँचथरले शतप्रतिशत लक्ष्य हासिल गरेकोले सर्वोत्कृष्ट जिल्लाको रूपमा घोषणा गरिएको हो।

प्रदेश प्रहरी प्रमुख ईश्वर कार्कीले उत्कृष्ट हुन सफल भएकोमा जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशल कुमार बुढाथोकीलाई हार्दिक बधाई तथा आगामी दिनमा पनि प्रशंसनीय कार्यको निरन्तरताका लागि शुभकामना दिँदै प्रशंसा-पत्र प्रदान गरे।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक कार्कीले सबै जिल्ला प्रहरी प्रमुखहरूलाई कार्यसम्पादन सम्झौता अनुसार आफ्नो लक्ष्य पूरा गर्न गम्भीरतापूर्वक लाग्न तथा थप रचनात्मक कार्यका साथ आम नागरिकको सेवामा २४ सै घण्टा तल्लीन रही जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिए।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले सहजीकरण गरेको उक्त कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका सिनियर तथा जुनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

21
Shares
८ श्रावण २०८२, बिहीबार १५:०५