काठमाडौं । संघीय संसद, प्रतिनिधि सभाको बैठक आज दिउँसो १:०० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने छन् । सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

साथै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

आजै तीनवटा संसदीय समितिका बैठकहरू पनि बस्दैछन् । सार्वजनिक लेखा समिति: ‘जगदुल्ला जलविद्युत् आयोजनाको निर्माणसम्बन्धी उजुरीउपर छलफल’ हुनेछ। नेपाल सरकारका सचिवहरूसँग गर्ने संयुक्त बैठकको मिति निर्धारण गरिनेछ।

विधायन व्यवस्थापन समिति: ‘जलस्रोत विधेयक, २०८१ माथि दफावार’ छलफल गर्ने कार्यसूची छ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति: भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानका लागि भएका प्रयास र समितिसँगको अपेक्षाका बारेमा छलफल हुनेछ।
21
Shares
७ श्रावण २०८२, बुधबार ०७:२५