आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लाहरू भई बहने साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहनेछ। महाशाखाले बाढीको जोखिम भएका जिल्ला आसपासका खोला तथा नदीमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
यसैबीच, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज रातिदेखि कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना छ।अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। आज दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्यतया बदली रहनेछ र केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार भोलि (शनिबार) दिउँसोदेखि पर्सि (सोमबार) बिहानसम्म देशभर ठूलो वर्षा हुन सक्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी जलाधार क्षेत्रमा अत्यधिक पानी पर्न सक्ने भएकाले पर्सि सोमबारसम्म सकभर लामो दूरीको यात्रा नगर्न पनि उहाँले सुझाव दिनुभएको छ।