धनकुटा । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले पूर्व राष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनलाई एजेण्डा विहीन भएको बताएका छन् । उनले एमालेका केन्द्रीय अध्यक्ष केपी ओलीको विकल्पको रुपमा मात्र रहने दाउमा भण्डारीको राजनीतिक उपस्थिति रहने दाबी गरेका छन् ।

माओवादी केन्द्रका केन्द्रीय उप–सचिव तथा कोशी प्रदेश इन्चार्जसमेत रहेका गजुरेलले आफ्नो पार्टीका लागि भण्डारीले राष्ट्रपति रहँदासमेत सकारात्मक भूमिका नराखेकोले उनको राजनीतिक सक्रियतालाई आफ्नो पार्टीले गौण रुपमा लिएको बताए ।

गजुरेलले धनकुटामा शनिबार आयोजित पत्रकार भेटघाटमा उक्त कुरा बताएका हुन् । उनले राष्ट्रपति हुँदासमेत साझा हुन नसकेकी भण्डारीको राजनीतिक सक्रियतालाई सामान्य विषय रहेको बताए । पूर्व उपराष्ट्रपति नन्दकुमार पुनलाई माओवादीले सक्रिय राजनीतिमा स्थान दिएकोले भण्डारीको उपस्थितिलाई पनि सामान्य रुपमा हेरिएको उनले उल्लेख गरे ।

यसैबीच, नेता गजुरेलले आफ्नो पार्टी सरकारमा जाने कुनै योजनामा नरहेको बताएका छन् । ‘एमालेसँग सरकारको समीकरण हुनै सक्दैन,’ उनले भने, ‘निर्णायक कांग्रेस भए पनि हामी सरकारमा जाने योजनामा छैनौं ।’ उनले मिसन चौरासीमा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन् । उनले यसका लागि पार्टी रणनीतिक योजनामा जुटेको दाबी गरे । ‘आफ्ना कमजोरीलाई सच्याएर हामी आफ्नै खुट्टामा टेकेर अघि बढ्ने छौं,’ उनले भने, ‘पार्टीभित्रका गम्भीर त्रुटि कार्यशैली र वैचारिक विचलनलाई करेक्सन गरेर अघि बढ्दै छौं ।’

7
Shares
३ श्रावण २०८२, शनिबार १२:१४