विराटनगर। सुनसरीको रामधुनी नगरपालिका–६ स्थित चतरा–कान्छी चोक सडकखण्डमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
इटहरीतर्फ गइरहेको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो। ठक्करबाट स्कुटर चालक रामधुनी–५ का ५० वर्षीय गणेश राजधामी गम्भीर घाइते भए।
प्रहरीका अनुसार उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा लगिएको थियो। तर शुक्रबार बिहान १:२५ बजे उनको मृत्यु भयो।
दुर्घटनामा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–८ का १९ वर्षीय संगम चौधरी पनि घाइते भएका छन्। उनको विराट नर्सिङ होममा उपचार भइरहेको छ।
प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल र स्कुटर दुबैलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।