यु. सुनील

साउन महिना लाग्दै गर्दा बजारमा मेहन्दी र हरियो चुराको चहलपहल बढ्न थाल्छ। साउने सङ्क्रान्ति आउनु केही दिन अगाडिदेखि नै केटाकेटी तथा महिलाहरू मेहन्दी बेच्न थाल्छन्। सङ्क्रान्तिको अघिल्लो दिन विशेषगरी मधेशीमूलका महिला तथा पुरुषहरू मेहन्दी लगाउन लामबद्ध बसेको देख्न सकिन्छ। तर, साउनमा मेहन्दी लगाउनु के फेसन मात्रै हो, संस्कृतिप्रतिको प्रेम हो वा स्वास्थ्यप्रतिको विशेष चासो?

मेहन्दीको चलनको सुरुवात

साउन महिनामा मेहन्दी लगाउने चलन शास्त्रमा लेखिएको कारणले सुरु भएको होइन। यो समयसँगै विकसित भएको एउटा प्रवृत्ति हो, जसको पछाडि केही व्यापारिक सोच पनि जोडिएको हुन सक्छ। धर्मशास्त्रमा उल्लेख नभए पनि र संस्कृतिसँग प्रत्यक्ष रूपमा नजोडिए पनि, साउनमा धेरैको हात मेहन्दीले रङ्गिएको देखिन्छ।

हालका दिनमा यो चलन संस्कृतिका कारणले भन्दा पनि देखासिकी र फेसनका कारणले बढेको हो। ‘अरूले लगाउन हुने मैले किन नलगाउने?’ भन्ने सोचले गर्दा यो क्रम सामाजिक हुन पुगेको छ। धर्मसँग जोडिएका केही व्यक्तिहरूले भने यसलाई धर्मसँग जोडेर यो भिडको हिस्सा बन्न खोजेको पनि पाइन्छ।

पहिले पहाडी गाउँघरमा तिउरीको लेप लगाइन्थ्यो भने तराईमा खेतमा पाइने मेहन्दीको बोटको पात पिसेर लगाइन्थ्यो। यी दुवै शुद्ध प्राकृतिक बोटबिरुवाबाट बनाइन्थे। तर, अचेल प्रयोग हुने मेहन्दीहरू कृत्रिम कारखानामा बनाइएका रासायनिक मेहन्दी हुन्। अब तराइका वा पहाडका सबै नेपाली बजारमा पाइने यस्ता रासायनिक मेहन्दीमै रमाउन थालेका छन्।

स्वास्थ्य र जोखिम

कुनै बेला तिउरी र मेहन्दी पिसेर हातमा दल्दा खेतमा हिलो खेल्दा लाग्ने लुतो खटिराबाट बच्न सकिन्छ भनिन्थ्यो। तर, अचेल मेहन्दी लगाउनेहरूले यसलाई फेसनका रूपमा विभिन्न बुट्टा कोरेर लगाउँछन्। यस्ता रासायनिक मेहन्दीमा औषधीय फाइदाहरू हुँदैनन्।

विभिन्न रासायनिक पदार्थ मिसाएर बनाइएका मेहन्दीहरूले कहिलेकाहीँ हातमा फोका उठ्ने तथा फोका फुटेर घाउ हुने सम्भावना पनि हुन्छ। मेहन्दीमा हुने ‘ट्राई हाइड्रॉक्सी नैफ्थलीन’ नामक एसिड अर्को रासायनिक तत्व ‘नेफ्था क्विनोन’को सम्पर्कमा आएपछि रातो रङ्गमा परिवर्तन हुन्छ। ‘लासोन’ भनिने यो रसायन हाम्रो छालाबाट र हावाबाट प्राप्त हुने गर्दछ, जसले गर्दा हातमा गाढा रङ्गको मेहन्दी लाग्छ।

तर, बजारमा पाइने कतिपय मेहन्दीहरूमा ‘ट्राई हाइड्रॉक्सी नैफ्थलीन’ नामक एसिड कडा खालको हुन्छ। जसको प्रयोगले मेहन्दी लगाएको केही समयपछि नै अत्यधिक चिलाउने, एलर्जी हुने, छाला सुन्निने तथा फोका उठ्ने जस्ता समस्याहरू देखिन सक्छन्। एउटै मेहन्दी पनि कसैको छालामा कुनै असर नगर्ने र कसैको छालामा तत्कालै असर गर्ने पनि हुन सक्छ।

आर्थिक पक्ष

राम्रो देखिनका लागि लगाइने मेहन्दी कहिलेकाहीँ घातक पनि हुन सक्छ। दोस्रो, यो फजुल खर्च पनि हो। मेहन्दी लगाइदिनेहरूमध्ये अधिकांश भारतीयहरू साउन महिनाका लागि मात्रै विभिन्न शहरमा पुग्ने गर्दछन्। यसले गर्दा मेहन्दीकै कारणले वार्षिक अरबौं रुपैयाँ भारततर्फ जाने गरेको अनुमान छ।

परम्परागत विधि

पहिले पहाडतिर तिउरीको पातमा मकरकाँची (मसरुम जस्तै एक प्रकारको घाँस), बारीको गाभा (झारपातको एक प्रकार) र पाए परेवाको बिष्टा पनि मिसाएर पिसेर हातभरी दलिन्थ्यो। तराईतिर भने मेहन्दीको सानो-सानो हरियो पात टिपेर त्यसमा ल्वाङ तथा इमली मिसाएर थोरै पानी हालेर पिसेर लेप बनाइन्थ्यो। यसरी बनेको लेपलाई औंलाहरूमा तथा बीचमा राखेर केही बेर छोडिन्थ्यो, जसले गर्दा हातमा प्राकृतिक रङ्ग बस्थ्यो। त्यसबेला अहिले जस्तो चित्रकलाको आवश्यकता पर्दैनथ्यो।

7
Shares
१ श्रावण २०८२, बिहीबार १४:५३