विराटनगर । मुकेश अम्बानी नेतृत्वको रिलायन्स इन्डस्ट्रीज र नेपालका उद्योगपति विनोद चौधरीको चौधरी ग्रुप (सीजी) को संयुक्त लगानीमा विराटनगरमा क्याम्पा कोलाको उद्योग स्थापना हुने भएको छ।

दुवै कम्पनीबीच संयुक्त लगानीको समझदारी भइसकेको जनाइएको छ। प्रारम्भिक योजना अनुसार विराटनगर प्लान्टमा करिब ७५ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ। तर विस्तृत प्राविधिक विवरण भने हाल सार्वजनिक गरिएको छैन।

क्याम्पा कोला भारतको पुरानो र चर्चित सफ्ट ड्रिंक ब्रान्ड हो, जसको स्वामित्व अहिले रिलायन्स इन्डस्ट्रीजसँग छ। ब्रान्ड पुनःप्रवेश अभियान अन्तर्गत रिलायन्सले यसलाई पुनर्जीवित गर्दै भारतका विभिन्न राज्यमा उत्पादन विस्तार गर्दै आएको छ।

यसअघि रिलायन्सले बिहारको बेगुसराई जिल्लामा ३५ एकड क्षेत्रफलमा नयाँ बोटलिङ प्लान्ट खोल्ने घोषणा गरिसकेको छ, जसमा करिब १,००० करोड भारतीय रुपैयाँको लगानी हुने बताइएको छ। सोही मोडलअनुसार नेपालमा पनि क्याम्पा कोलाको व्यवसायिक विस्तार गरिँदैछ।

२०० एमएल प्याकमा उपलब्ध यो ड्रिंक भारतमा पेप्सीभन्दा सस्तो, प्रति प्याक १० रुपैयाँ पर्ने तय गरिएको छ। नेपालको बजारका लागि मूल्य निर्धारण र वितरणको मोडालिटी भने पछि तय गरिने जनाइएको छ।

क्याम्पा कोला १९८० को दशकमा भारतमा अत्यधिक लोकप्रिय ब्रान्डमध्ये एक थियो, जुन पछि समयसँग हराउँदै गएको थियो। रिलायन्सले त्यसको स्वामित्व लिइ पछिल्ला वर्षहरूमा पुनर्जीवित गर्दै बजारमा ल्याएको हो।

140
Shares
३० असार २०८२, सोमबार १७:४०