काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपअन्तर्गतको खेलमा बंगलादेशसँग नेपाल पराजित भएको छ । ढाकास्थित बसुन्धरा किङ्स एरिना रंगशालामा घरेलु टोली बंगलादेशसँग आइतबार नेपाल ३–२ गोल अन्तरले निराश हुन पुग्यो ।

खेलमा घरेलु टोलीका लागि सिन्हा जहान सिखा, सागोरिका श्रीमती त्रिस्ना रानी तथा नेपालका लागि अनिषा राईले र मीना देउवाले गोल गरेका थिए । नेपाल पहिलो हाफमा २–० ले पछि परेको थियो ।

मध्यान्तरपछि नेपालले उत्कृष्ट पुनरागमन गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याएको थियो । तर, सम्हालिन नसक्दा इन्जुरी समयमा पुगेर नेपालले नतिजा बंगलादेशलाई सुम्पियो । खेलको १३ औं मिनेटमा सिना जहान शिखाले घरेलु टोलीका लागि पहिलो गोल गर्दै अग्रता दिलाइन्। ३६ औं मिनेटमा सागोरिकाले गोल गर्दै बंगलादेशले अग्रता दोब्बर बनाइन् ।

दोस्रो हाफको प्रारम्भमै दुवै टोली १०–१० खेलाडीमा सीमित भएका थिए । नेपालकी सिम्रन राई र बंगलादेशकी सागोरिकाबीचको झगडामा रेफ्रीले दुवैलाई रातो कार्ड दिँदा उनीहरुले मैदान छाड्न पर्यो । ५२ औं मिनेटमा नेपालले पेनाल्टी पाएपछि खेल २–१ को अवस्थामा पुग्यो । अनिषा राईले पेनाल्टीमार्फत गोल गरेकी थिइन् । ८५ औं मिनेटमा पूर्णिमा राईको क्रसमा मीना देउवाले गोल गर्दै खेललाई २–२ को अवस्था पुर्याइन् ।

तर, इन्जुरी समयमा श्रीमती तृष्णारानी सरकारले निर्णायक गोल गर्दै बंगलादेशलाई ३–२ को जित दिलाइन्। नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोल अन्तरले पराजित गरेको थियो । अब नेपालले तेस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नुपर्ने छ । बंगलादेशले यसअघि श्रीलंकालाई ९–१ गोल अन्तरले स्तब्ध बनाएको थियो ।
14
Shares
३० असार २०८२, सोमबार ०६:१८