गाजामा स्थलगत कारबाही गरिरहेको इजरायललाई धक्का लाग्ने गरी हमासले अप्रत्यासित रणनीतिक हमला गर्दा ५ इजरायली सेनाको मृत्यु भएको छ। हमासको आक्रमण घातक मात्र होइन, उसले आक्रमणका लागि चयन गरेको ठाउँसमेत अप्रत्यासित रहेको सिएनएनले जनाएको छ।

तुलनात्मक रुपमा इजरायली सेनाले आफूलाई सुरक्षित मानेको सीमाबाट करिब एक माइल भित्र, जहाँ ट्यांक र बख्तरबन्द गाडीहरू चल्ने बाटो थियो, केही इजरायली सैनिकहरू हिँडिरहेका थिए। त्यसैबेला टाढाबाट सञ्चालन गरिएको एक बम विस्फोट भयो। यो बम ‘नेत्जाह येहुदा’ नामक बटालियनका सैनिकहरूलाई लक्षित गरी विस्फोट गरिएको थियो, जसमा अति-धार्मिक यहूदीहरू हुने गर्छन्।

हमासले पहिलो विस्फोटपछि अरु इजरायली सैनिकहरू सहायता गर्न पुगेपछि त्यहीँ दोस्रो विस्फोट गरायो। केही क्षणपछि तेस्रो बम पड्कियो र त्यससँगै नजिकै लुकेका हमास लडाकुहरूले गोलीबारीसमेत सुरु गरेपछि इजरायली सेनाले ठूलो नोक्सानी व्यहोर्न पुग्यो।

केही मिनेटमै पाँच इजरायली सैनिकको मृत्यु भयो र १४ जना घाइते हुन पुगका थिए। जसमा अधिकांशको अवस्था गम्भीर रहेको जनाइएको छ। यो घटना गाजाको उत्तर-पूर्व कुनाको सहर बैत हानुनमा भएको थियो, जुन इजरायलको स्डेरोट सहरबाट सजिलै देखिने ठाउँ हो।

त्यो क्षेत्र इजरायली सेनाको नियन्त्रणमा भएको मानिएको थियो। अनुसन्धानअनुसार हमासले बमहरू राखेको २४ घण्टाभित्रै यो घातक हमाला गरेको थियो। सम्भवतः इजरायली सेनालाई त्यहाँ आफूहरू सुरक्षित रहेको विश्वास थियो।

यो हमासको छापामार रणनीतिमा बदलिएको योजनाका रुपमा हेरिएको छ। करिब २१ महिनाको युद्धपछि कमजोर भएको हमासले इजरायली सेनाविरुद्ध घातक आक्रमणलाई जारी राख्दै हार नमान्ने संकेत दिएको छ।

इजरायलले पहिले नियन्त्रणमा लिएको भनिएको धेरै ठाउँमा हमास फेरी देखापर्ने क्रम जारी छ। यसले देखाउँछ कि इजरायल हमासलाई पूर्णरूपमा समाप्त पार्ने लक्ष्यभन्दा अझै पनि धेरै टाढा छ।

सोमबारको आक्रमणपछि हमासको अल-कसाम ब्रिगेडले इजरायलले सुरक्षित मानेको ठाउँमा भएको सफल आक्रमण भनेको छ। एक विज्ञप्तिमा हमासले यो युद्धलाई ‘ब्याटल अफ एट्रिसन’ भनेको छ। जसमा उनीहरूले अक्टोबर ७ का आक्रमणमा समातेका सैनिकहरूसँग अझ थप कैदीहरू थप्ने रणनीति बनाएका छन्।

बुधबार खान युनिसमा हमास लडाकुहरूले इजरायली इन्जिनियरिङ गाडीमाथि रकेट प्रोपेल्ड ग्रिनेड प्रहार गरे र चालक भाग्न खोज्दै गर्दा हमला गरे। इजरायली सेनाका अनुसार लडाकुहरूले चालकलाई अपहरण गर्न खोजेका थिए तर मारिए। हमासले भने नयाँ कैदी थप्ने आफ्नो प्रयास निरन्तर रहने बताएको छ।

7
Shares
२९ असार २०८२, आईतवार ०६:५२