काठमाडौं । पूर्व निर्वाचन आयुक्त तथा कानुनविद् इला शर्माको निधन भएको छ । नर्भिक अस्पतालमा शनिबार साँझ उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उनको हृदयाघातबाट निधन भएको बताइएको छ । नेपाली निर्वाचन प्रणालीको कानुनी संरचना विकासमा महत्वपूर्ण योगदान पुर्याएकी शर्माले निर्वाचन आयोगको आयुक्तका रूपमा काम गरेकी थिइन् ।उनले निर्वाचन कानुन, नियमावली र निर्देशन मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्वसमेत सम्हालेकी थिइन् । पछिल्लो समय उनी सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समितिमा आबद्ध थिइन् ।
सक्रिय बौद्धिक व्यक्तित्वका रूपमा चिनिएकी शर्माका २ छोरी छन् । उनको अन्त्येष्टि आइतबार गरिने पारिवारिक स्रोतले जनाएको छ ।शर्मा सार्वजनिक सेवा, लोकतन्त्र र विधिको शासनप्रति समर्पित पात्रको रूपमा चिनिन्थिन् । उनको निधनप्रति विभिन्न राजनीतिक दल, संघसंस्था र व्यक्तिहरूले शोक व्यक्त गरेका छन् ।