विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित गदिया खोलानजिकैको उखुबारीबाट ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा बुधवार साँझ बरामद गरेको हो।

प्रहरीका अनुसार २६ बोरा गाँजा भेटिएको छ, जसको कुल तौल ८०२ किलो छ। गाँजा लुकाएर राखिएको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली, गडेरिया र अमाहिवरियाती प्रहरी चौकी तथा सशस्त्र प्रहरीको नोचाबाट खटिएको टोलीले बरामद गरेको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार गाँजा कसले लुकाएको भन्ने खुलेको छैन र हालसम्म कोही पनि पक्राउ परेको छैन।

प्रहरीको आशंका अनुसार पूर्वी पहाडी जिल्लाबाट भारत लैजानका लागि उक्त गाँजा उखुबारीमा लुकाएर राखिएको हुन सक्छ। बरामद गाँजा हाल इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

28
Shares
२६ असार २०८२, बिहीबार १२:०४