विराटनगर । विराटनगरस्थित इग्नाइट फाउण्डेसनको आयोजनामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । विराटनगर–१२ मलङ्गवास्थित जनता बाल कल्याण आधारभूत विद्यालयमा शिविर आयोजना गरिएको हो ।

विराट रानी आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षक–शिक्षिकाहरुको आँखाको जाँच गरिएको थियो । शिविरमा ७५ जनाले जाँच गराएका थिए ।

जसमा एकजना छात्र र दुईजना छात्रामा आँखाको समस्या देखिएको थियो । समस्या देखिएका छात्रछात्रले चस्मा लगाउनुपर्ने अवस्था देखिएको अस्पतालकी नेत्र विशेषज्ञ ज्योति राजवंशीले जानकारी दिइन् ।

उनका अनुसार एकजना शिक्षिकाको आँखामा मासु पलाएको पाइएको छ । राजवंशीसहित मनिषा साह, रुविना बेगम, लिरिल चौधरीको स्वास्थ्यकर्मीको टोलीले आँखाको जाँच गरेको थियो ।

फाउण्डेसनले केही समयअघि ट्राफिक चोकमा बटुवाहरुलाई लक्षित गरी चिसो पानी वितरण सुरु गरेको थियो । हाल पनि दुईवटा माटाको भाँडा राखेर पानी वितरणलाई निरन्तरता दिइएको छ । समाजसेवाप्रति युवालाई आकर्षित गर्न इग्नाइट फाउण्डेसन स्थापना गरी विभिन्न सामाजिक कार्य गरिरहेको अध्यक्ष कोइरालाको भनाइ थियो ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । मेयर कोइरालाको आँखा जाँच गरी शिविरको शुभारम्भ गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोयरालाले मोबाइल र टेलिभिजनमा बढी केन्द्रित हुँदा बालबालिकाहरुमा सानै उमेरदेखि आँखाको समस्या देखिन थालेको बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, मोरङ प्रहरीका प्रमुख एसपी नारायण चिमरिया, विराट रानी आँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष कमलेस कर्ण, आयोजक संस्थाका अध्यक्ष आश्रेय कोइराला, कोषाध्यक्ष राहुल साहनी, सदस्य रयान थापालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

7
Shares
२५ असार २०८२, बुधबार १६:४७