विराटनगर । मोरङको रतुवामाई नगरपालिका–६ मा अंश सम्बन्धी पुरानो झगडा लिएर विवाद हुँदा एक जनाको ज्यान गएको छ। असार २१ गते मोरङको रतुवामाई ६ का ६० वर्षीय टीकामाया कार्की बस्नेतको आफ्नै देवर ६९ वर्ष टंकबहादुर बस्नेतले निर्ममतापूर्वक हत्या गरेको प्रहरीले जनाएको छ। केही समय यता मृतकका पति गणेशबहादुर बस्नेत र उनका सौतेला भाइ टंकबहादुरबीच पुख्र्यौली सम्पत्तिको बाँडफाँट सम्बन्धी झगडा चर्किएको थियो। उक्त सम्पत्तिमा देवर टंकले एकलौटी कब्जा जमाउन खोजिरहेका थिए। अदालतबाट दाजु गणेशले पनि अंश पाउने ठहर भएपछि टंक आक्रोशित बनेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
बारीमा घाँस काट्न गएका बेला असार २१ गते दिउँसो टीकामायाको शव फेला परेको थियो। विराटनगरको कोशी अस्पतालमा पोस्टमार्टम गरियो। त्यस क्रममा मृतकको घुच्चुकमा गहिरो चोट लागेको देखिएको थियो। सोही आधारमा इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर होमप्रसाद अधिकारी नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएर घटनाको वास्तविक सम्म पुग्न सफल भयो।
डीएसपी चुँडालका अनुसार हँसियाको बिँड प्रहार गरेर टीकामायाको हत्या गरिएको थियो। घटनामा प्रयोग भएको हँसिया टंककै घरबाट बरामद गरिएको छ। प्रहरीले सोमबार दिउँसो टंकलाई आफ्नै घरबाट पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ। टंकविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ।