विराटनगर । मोरङ जिल्ला अब ‘पूर्ण खोप सुनिश्चितता जिल्ला’को रूपमा औपचारिक रूपमा घोषित भएको छ। स्वास्थ्य कार्यालय मोरङले सोमबार विराटनगरमा आयोजित विशेष समारोहमा उक्त घोषणा गरेको हो।

स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका १५९ वटै वडामा खोप अभियान सञ्चालन गरिएको थियो। सो अवधिमा जन्मेदेखि १५ महिनासम्मका १६ हजार ५५१ बालबालिका र १६ देखि ५९ महिनासम्मका ४४ हजार ३४ बालबालिकालाई नियमित खोप दिइएको छ। कुल ६० हजार ५८५ बालबालिकाको खोप सुनिश्चित भएपछि मोरङलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले यस उपलब्धिलाई दिगो बनाउन निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिए। उनले समुदाय, स्वास्थ्यकर्मी तथा स्थानीय तहको सहकार्यले मात्र यस्तो सफलता सम्भव भएको बताए।

स्वास्थ्य कार्यालय मोरङका प्रमुख सागर प्रसाईँ र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना निर्देशिकाअनुसार सबै मापदण्ड पुरा भएकाले मोरङलाई यो मान्यता दिइएको बताए। उनीहरूले आगामी दिनमा पनि यो उपलब्धिलाई कायम राख्न योजना अनुसार अघि बढ्ने प्रतिबद्धता जनाए।

14
Shares
२३ असार २०८२, सोमबार १८:२२