काठमाडौं । देशभरका चिकित्सक आज (सोमबार)बाट आन्दोलित बनेका छन् । स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा ठप्प पार्दै चिकित्सक आन्दोलनमा उत्रिएका हुन् ।

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलन भएको हो । यसअघि चिकित्सकहरु कालोपट्टी बाँधेर आन्दोलनमा थिए ।

संघले कानुन संशोधनमार्फत चिकित्सकीय मुद्दा हेर्ने अधिकार मेडिकल काउन्सिलमा मात्रै सीमित गरिनुपर्ने माग गर्दै आएको छ । आवश्यक परे थप कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनीसमेत संघले दिएको छ ।

केही साता यता उपभोक्ता अदालतले उपचारमा लापरबाही गरेको मुद्दामा बिरामीका आफन्तको पक्षमा फैसला गरेको थियो । उपभोक्ता अदालतले ओम अस्पतालले ५० लाख ७० हजार, हिमाल अस्पताल र उपचारमा सम्लग्न चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ र ग्राण्डी सीटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो ।

बिरामीका पक्षमा अदालतको फैसला आउन थालेपछि चिकित्सक संघको आह्वानमा चिकित्सक आन्दोलित बनेका हुन् ।
14
Shares
२३ असार २०८२, सोमबार १२:१९