विराटनगर । नेपालमा औद्योगिक तथा व्यवसायिक प्रयोजनका वस्तुहरूको बीमा शुल्क भारतको तुलनामा अत्यधिक महँगो भएको भन्दै मोरङ उद्योग व्यापार संघले बीमा शुल्क घटाउन सरकारको ध्यानाकर्षण गराएको छ।

संघले बीमा शुल्क सम्बन्धी नीति पुनरावलोकन गर्न ६ बुँदे सुझावसहित ज्ञापनपत्र पेश गरेको हो। ज्ञापनमा उल्लेख भएअनुसार नेपालमा औद्योगिक बीमा प्रिमियम भारतको तुलनामा ५० प्रतिशतदेखि २०० प्रतिशतसम्म बढी रहेको तथ्य संकलनले देखाएको छ।

प्रमुख मुद्दाहरूः

संघका अनुसार नेपालमा बीमा सम्बन्धी मुख्य समस्याहरू यस्ता छन्:

  • बीमा प्रिमियम उच्च: समान वस्तु तथा जोखिम मूल्यांकन हुँदाहुँदै नेपालमा बीमा शुल्क धेरै छ।

  • वर्गीकरणमा असमानता: जोखिमको वैज्ञानिक वर्गीकरण नहुँदा वस्तुहरूको बीमा दर फरक–फरक देखिन्छ।

  • गणनामा अपारदर्शिता: भारतमा बीमालेख गणना खुला र अनलाइन पहुँचसहित पारदर्शी छ, तर नेपालमा त्यस्तो छैन।

  • कमिसन कटौतीको असर: बीमा गराउँदा दिइँदै आएको १० प्रतिशत एजेन्ट कमिशनलाई घटाएर ५ प्रतिशत कायम गरेकाले व्यवसायीलाई थप आर्थिक भार परेको संघको भनाइ छ।

संघले नेपाल भूपरिवेष्ठित मुलुक भएको, कच्चा पदार्थको परनिर्भरता बढी भएको, लागत पहिले नै उच्च रहेको सन्दर्भमा अझै बीमा शुल्क बढी हुनु उद्योग, उपभोक्ता र समग्र अर्थतन्त्रका लागि गम्भीर विषय भएको उल्लेख गरेको छ।

संघका ६ सुझाव

बीमा दर भारत वा अन्य प्रतिस्पर्धी मुलुक सरह वा कम बनाइनुपर्छ।

जोखिम मूल्यांकनमा ऐच्छिक बीमा प्रणालीको व्यवस्था हुनुपर्छ।

वस्तुहरूको वैज्ञानिक वर्गीकरण गरी दर निर्धारण गरिनुपर्छ।

बीमा शुल्क गणना पारदर्शी र डिजिटल ट्रयाकिङ प्रणाली लागू गरिनुपर्छ।

पारम्परिक १० प्रतिशत कमिसन पुनः लागू गरिनुपर्छ।

साधारण सवारी साधन (जस्तै दुई पांग्रेमा) भारतको तुलनामा दोब्बर प्रिमियम खारेज गरिनुपर्छ।

संघले बीमा नीतिमा सुधार ल्याई व्यवसायीमाथिको खर्च भार घटाउन सरकारसँग माग गरेको छ।

14
Shares
२३ असार २०८२, सोमबार ०९:५७