विराटनगर । मोरङको ग्रामथान–२, झोराहाटस्थित नारदमुनि पवित्रादेवी लुइँटेल स्मृति कोषले समाज सेवा, शिक्षाक्षेत्र र पत्रकारितामा योगदान पुर्‍याउने पाँचजना व्यक्तित्वलाई आइतबार एक कार्यक्रमबीच सम्मान गरेको छ।

कार्यक्रममा झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार यसपटक नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार विक्रम निरौलालाई प्रदान गरिएको छ। उनलाई नगद राशिसहित सम्मानपत्रद्वारा सम्मान गरियो।

त्यस अवसरमा छात्रपति लुइँटेल निवृत्त शिक्षक सम्मान अन्तर्गत शिक्षाक्षेत्रमा योगदान पुर्‍याउने शिवबहादुर अधिकारी र नारायणबहादुर न्यौपानेलाई सम्मान गरियो। यसैगरी, सरस्वती नमुना उच्च माध्यमिक विद्यालय, झोराहाट–२ मा अध्ययनरत रोजिना गच्छदार र आयुश खत्वेलाई जेहनदार छात्रवृत्ति प्रदान गरिएको छ।

कार्यक्रममा छात्रपति लुइँटेल स्मृति ग्रन्थको पनि विमोचन गरिएको थियो। कार्यक्रममा कोशी प्रदेशसभा सभामुख अम्बरबहादुर विष्ट प्रमुख अतिथिका रूपमा सहभागी थिए। सभामुख विष्टले सञ्चारकर्मीहरूले समाजमा पछाडि पारिएका समुदायको आवाज बुलन्द गर्नुपर्नेमा जोड दिँदै भने, “लुइँटेल परिवारले शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा पुर्‍याएको योगदान आज पनि प्रेरणादायी छ।”

कार्यक्रममा विराटनगर महानगर प्रमुख नागेश कोइराला, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, उद्योग संगठन मोरङ अध्यक्ष नन्दकिशोर राठी, शंकर लुइँटेल लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति थियो।

21
Shares
२२ असार २०८२, आईतवार १९:३९