मानवता भन्दा ठूलो कुनै धर्म हुँदैन। मैले पहिले पनि पालेस्टाइनमाथि भएको अन्यायको विरोध गरेको थिएँ, अहिले पनि गरिरहेको छु र भविष्यमा पनि गरिरहनेछु। तर, त्यही समय बंगलादेशमा केही कट्टरपन्थीहरूले हिन्दुहरूमाथि गरेको आक्रमण, मन्दिर तोडफोड र आगजनीको विरोध किन हुँदैन? धर्मका नाममा हिंसा गर्नेलाई समर्थन गर्ने हो भने त्यसले धर्म होइन, कट्टरता देखाउँछ। ‘टीका लगाउने मुस्लिम होइन’ भन्ने जस्ता कुरा हाम्रो साझा संस्कृतिमाथि अपमान हो।

म मुस्लिम हुँ, तर म नेपाली पनि हुँ। त्यसैले म नमाज पढ्छु, टीका लगाउँछु, होली मनाउँछु, दशैंमा आशीर्वाद लिन्छु, र रक्षा बन्धन बाँध्छु। आमा–बुबाको दु’आ, दिदी–बहिनीको आशिर्वाद लिएर बाँच्नु मेरो गर्व हो। धर्म कुनै विभाजनको आधार होइन, त्यो त मानवता र सहिष्णुताको बाटो हो। आफ्नो धर्मप्रति श्रद्धा राख्दै अरूको विश्वास र संस्कारलाई सम्मान गर्नु नै साँचो धर्म हो।

1.95k
Shares
२२ असार २०८२, आईतवार १३:१६