मोरङ विराटनगर–११ मा रहेको श्री हस्पिटललाई भवन भाडामा लिएर सञ्चालन गर्दै आएको व्यवस्थापनले लामो समयदेखि भाडा नतिरेपछि घरधनीले अस्पतालमा तालाबन्दी गरेका छन्।स्थानियका अनुसार, हस्पिटलले करिब एक वर्षदेखि घरधनीलाई भवन भाडा नबुझाएको र पटक–पटक माग्दा पनि कुनै स्पष्ट जवाफ नदिएको गुनासो आएको थियो। यस्तो लापरवाहीपूर्ण व्यवहारपछि घरधनीले बाध्य भएर शुक्रबार बिहान हस्पिटलको मुख्य गेटमा तालाबन्दी गरेका हुन्।

तालाबन्दीपछि अस्पतालमा आउने बिरामी र कर्मचारीलाई समस्या परेको छ। कतिपय बिरामीहरू अन्य अस्पताल जान बाध्य भएका छन् भने केहीले बीचमै उपचार स्थगन गर्नुपरेको जनाइएको छ।घरधनीले भने आफूले पटक–पटक सम्झाइबुझाइ गर्दा पनि हस्पिटल पक्षबाट कुनै समाधान नआएको र कानुनी बाटोमा जानु पूर्व अन्तिम प्रयासस्वरूप तालाबन्दी गरिएको स्पष्ट पारेका छन्।

हस्पिटल व्यवस्थापनले यसबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया नदिए पनि स्रोतका अनुसार हाल दुवै पक्षबीच कुराकानीको प्रयास भइरहेको छ। स्थानीय प्रशासनले पनि घटनाको जानकारी लिई समाधानका लागि पहल थालेको बताइएको छ।यो घटनाले निजी अस्पतालहरू सञ्चालनमा पारदर्शिता र उत्तरदायित्व कति महत्त्वपूर्ण हुन्छ भन्ने विषयमा फेरि बहस चर्किएको छ।

126
Shares
२० असार २०८२, शुक्रबार १५:३१