डोटी, सायल गाउँपालिका–३ तोलेनीमा पहिलो पटक केन्द्रीय विद्युत सेवा पुगेको छ। विकट पहाडी बस्तीमा उज्यालो पुगेपछि स्थानीयवासीमा हर्षको माहोल छाएको छ। लामो समयदेखि अँध्यारोमा जीवनयापन गर्दै आएका स्थानीयले अब आधुनिक सुविधाको अनुभव गर्न पाउने भएका छन्।
गाउँमा पहिलो पटक बत्ती बल्दा गाउँभर खुशीको लहर छाएको छ। स्थानीय यदु नेपालीले विद्युत विस्तारले ग्रामीण जीवनशैलीमा ठूलो परिवर्तन ल्याउने बताउँदै, “हामी कुटानी पिसानीका लागि घण्टौं हिँड्नुपर्ने बाध्यता थियो, अब गाउँमै मिल सञ्चालनमा आउँछ भन्ने लागेको छ,” भने।
कक्षा १० मा अध्ययनरत छात्र मेखराज उपाध्यायले विद्युत नहुँदा अध्ययनमा निकै समस्या भएको स्मरण गर्दै अब पढाइमा सहजता आउने बताए। “अँध्यारोमा पढ्नुपर्ने दिन गए, अब हामी उज्यालोमा पढ्न पाउने भयौं,” उनले खुशी व्यक्त गरे।
विद्युत सेवाको उद्घाटन सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले विधिवत रूपमा बत्ती बालेर गरेका थिए। उनले वडा नं. ३ का गर्खा सायल, बनगाउँ, पानीखाल लगायतका बस्तीलाई केन्द्रीय लाइनसँग जोडिएको जानकारी दिए।
उनका अनुसार २०७७/०७८ मा नै बत्ती विस्तार गरिसक्नुपर्ने भए तापनि विभिन्न कारणले ढिलो भएको थियो। “स्थानीय सरकार र कर्मचारीहरूको अथक प्रयासले आज विद्युत सेवा विस्तार सम्भव भएको हो,” अध्यक्ष जोशीले भने।
अब गाउँका व्यापारी, व्यवसायी तथा विद्यार्थीहरूले उज्यालोमा काम गर्न, पढ्न लेख्न सहज हुने भएकाले गाउँको समग्र विकासमा विद्युत सेवाले महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।