काठमार्डौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूविरुद्ध लगाइएको भ्रष्टाचारको मुद्दा राजनीतिक पूर्वाग्रह र बदलाको भावना प्रेरित रहेको आरोप लगाउनु भएको छ ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको मधेश प्रदेश सम्पर्क समिति प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत पूर्वाग्रहका आधारमा मुद्दा लगाउन खोजेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो , “हाम्रो पार्टीको भूमिकाले केही व्यक्तिहरू आत्तिएका छन्, आतंकित भएका छन्। बदलाको भावनाले उनीहरूलाई पोलिरहेको छ।”

नेपालले पतञ्जलि प्रकरणमा आफूले कुनै अनुचित कार्य नगरेको स्पष्ट पार्दै यदि देश वा जनतालाई हानी पुर्‍याउने कुनै काम गरेको प्रमाणित भए सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको बताउनु भएको छ । “मैले एक रुपैयाँ पनि कसैसँग घुस लिएको छैन, कुनै अनुचित निर्णय गरेको छैन,” उहाँले भन्नुभयो “यदि कुनै गल्ती भएको छ भने म त्यसको सम्पूर्ण जिम्मेवारी लिन तयार छु।”

पूर्वप्रधानमन्त्री नेपालले न्यायपालिकाबाट निष्पक्ष न्यायमा विश्वास रहेको पनि बताउनुभयो। “निजी स्वार्थबाट कुनै काम गरिएको छैन। म सबै गलत आरोपहरूको विरुद्धमा दृढतापूर्वक उभिन्छु। मलाई विश्वास छ, न्यायको जित हुनेछ, अन्यायको हार हुनेछ,” उहाँले जोड दिनुभयो।

यसैबीच, पतञ्जलि समूहलाई जग्गा प्रदान गर्ने निर्णय प्रक्रियामा संलग्न भएको भन्दै अख्तियारले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध अनुसन्धान अघि बढाएको चर्चा सार्वजनिक भएको छ। यद्यापी, नेपालले यसलाई राजनीतिक प्रतिशोधका रूपमा लिनुभएको छ।
28
Shares
२४ जेष्ठ २०८२, शनिबार १४:४९