विश्वका शीर्ष ३२ खेलाडी मात्र सहभागी हुन पाउने यस प्रतिष्ठित लिगमा पदक जित्ने एरिका पहिलो नेपाली महिला खेलाडी बनेकी छिन्।
इतिहास रच्ने एरिका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत
विराटनगर । मोरक्कोमा सम्पन्न कराते वान प्रिमियर लिगमा कांस्य पदक जितेर इतिहास रचेकी एरिका गुरुङलाई आज (मंगलबार) काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य रूपमा स्वागत गरिएको छ।
प्रतियोगिताको ६८ केजीभन्दा माथिको तौल समूहमा फ्रान्सकी खेलाडी क्लामेन्स पियरलाई पराजित गर्दै एरिकाले कांस्य पदक जितेकी थिइन्।
उनको ऐतिहासिक उपलब्धिको सम्मानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, खेलाडी, समर्थक तथा शुभचिन्तकहरुले बाजागाजासहित विमानस्थलमै पुगेर स्वागत गरेका थिए।