विराटनगर । सप्तकोशी नदीमा बग्दै गरेको ट्युबमा शुक्रबार बिहानका राति लागुऔषध गाँजा फेला परेको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित बगिरहेको अवस्थामा फेला परेको गाडीमा प्रयोग हुने ट्युबबाट बिहानका राति २ः३० बजेतिर २ सय किलोग्राम गाँजा बरामद भएको हो । गाँजा ओसारपसार भइरहेको विशेष सूचना प्राप्त हुनसाथ नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चतराबाट संयुक्त टोली खटिएको थियो ।

सप्तकोशी नदीको आसपासमा खोजतलास थालेको प्रहरीले नदीमा बेवारिसे अवस्थामा बग्दै आएको २ वटा ट्युब फेला पार्यो । पछ्याउँदै गएको टोलीले कोशी पुलदेखि १।५ किलोमिटर उत्तरतर्फ नदीको किनारामा ट्युब निकालेको थियो ।

दुवै ट्युब खानतलासी गर्दा प्लाष्टिकको बोरामा पोको पारेको अवस्थामा गाँजा भेटिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताउनुभयो। उहाँका अनुसार ट्युबमा ८ वटा बोरा फेला परेको थियो ।

बोरा खोलेर हेर्दा त्यहाँभित्र गाँजा फेला परेको हो । उक्त ट्युब र गाँजालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा लगेर राखिएको छ । गाँजा कसले ओसारपसार गरेको हो भनेर यकिन भइसकेको छैन ।

थप अनुसन्धान सुरु गरेर ओसारपसारमा संलग्नको खोजी तीव्र पारिएको डीएसपी खतिवडाले बताउनुभयो । उहाँका अनुसार ओसारपसारमा संलग्नले चतराको माथिल्लो भागबाट ट्युबमा गाँजा राखेर नदीमा बगाउँदै तल्लो भागबाट ‘रिसिभ’ गर्ने योजना बनाएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

56
Shares
१६ जेष्ठ २०८२, शुक्रबार १४:३७