विराटनगर । यस वर्षको सगरमाथा आरोहण शुरू भएको छ । सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ ।

 

यो यामको आरोहणका लागि डोरी टाँग्दै सात जना शेर्पा हिजो शिखरमा पुगेका पर्यटन विभागका निर्देशक लीलाधर अवस्थीले जानकारी दिनुभयो ।

 

अशोक लामाले नेतृत्व गरेको टोलीले डोरी टाँग्ने काम सम्पन्न गरेको हो । सगरमाथाको चुचुरोमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा शुरू भएको छ । अब अरु आरोही मौसम अनुकूलता हेरेर शिखरतर्फ लाग्ने निर्देशक अवस्थीले बताउनुभयो ।

पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार अहिलेसम्म ४४ आरोही समूहका चार सय २१ जनाले सगरमाथा आरोहणको अनुमति लिएका छन् । सगरमाथा आरोहण ४० दिनको हुन्छ ।

सगरमाथा आरोहणबाट मात्रै ६५ करोड रोयल्टी सङ्कलन भएको छ । सगरमाथा आरोही सङ्घका महासचिव शिवबहादुर सापकोटाले सगरमाथा आरोहणको सकारात्मक सन्देशले नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने बताउनुभयो ।

आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन सम्बद्ध निकाय र एक्सपीडिसन कम्पनीले प्रभावकारी व्यवस्थापन गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आरोहणका लागि अनुकूल मौसम रहेकाले ‘मे’ ११ तारिख अर्थात् भोलिदेखि तीन दिनसम्म सर्वाधिक सङ्ख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना छ ।

21
Shares
२७ बैशाख २०८२, शनिबार १०:२९