गएको वर्षको असोजमा सरकारले गरेको ११ बुँदे सहमति कार्यान्वयन गर्दै यथाशक्य छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरं २० दिनदेखि काठमाण्डौको सडकमा आन्दोलित छन् ।
यसअघि दिउँसो १२ देखि ३ बजेसम्म आन्दोलन गर्दै आएका शिक्षकहरूले अब भने बिहान ९ बजेदेखि दिउँसाे १२ बजेसम्म आन्दोलन गर्न थालेका छन् । दिउँसोको समयमा सर्वसाधारणलाई मात्रै दुःख भएकाले विशेषगरी सरकारी कर्मचारी, नेता, सांसद, मन्त्रीलाई पनि अवरोध गराउने उद्देश्यले बिहान आन्दोलन शुरू गरेको शिक्षकहरूको भनाइ छ ।
सरकारले विभिन्न बहानामा आन्दोलन रोकेर शिक्षकहरूलाई विद्यालय फर्किन आग्रह गरे पनि विधेयक हातमा नपरेसम्म नफर्किने उनीहरूको अडान छ ।
यसैबीच आन्दोलनरत शिक्षकहरूले घर फर्किने क्रममा गाडी दुर्घटनामा ज्यान गुमाएका शिक्षकहरूको सम्झनामा सडकमै शोक मनाउने भएको छ । मनाङको नार्फु गाउँपालिका–८ घर भई नासोँ गाउँपालिका–८ मा रहेको जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक मन घलेको हिजो ज्यान गएको हो ।
शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले आज सडकमै शोक मनाउने भन्दै कुनै नाचगान र मनोरञ्जनका कार्यक्रम नगर्न शिक्षकहरूलाई आग्रह गर्नुभएको छ । यस्तै उहाँले प्रधानमन्त्री, शिक्षामन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई गालीगलौज नगर्न पनि आग्रह गरेका छन् ।