नेपालले हालसम्म खेलेका दुवै खेल जितेको छ । पहिलो खेलमा यूएईमाथि डिएल पद्दति अनुसार जित निकालेको नेपालले दोस्रो खेलमा ओमानलाई सहजै हराएको थियो ।
उता अफगानिस्तानले पनि आफ्ना दुवै खेल जितेको छ । पहिलो खेलमा ओमान तथा दोस्रो खेलमा हङकङमाथि फराकिलो जित निकाल्दै अफगानिस्तान नेपालसँगै समान २ जित भएपनि नेट रनरेटमा धेरै अगाडि छ ।आजै अफगानिस्तानले यूएईसँग माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेल्दै छ । नेपाल र अफगानिस्तान आफ्ना खेलमा विजयी भएमा नेपाल र अफगानिस्तान मात्र शीर्षको होडमा बाँकी रहने छन् ।
त्यसो भएमा त्यसपछि शनिबार हुने नेपाल र अफगानिस्तानको खेलले नै विश्वकप खेल्ने टोलीको टुंगो लगाउने छ । ब्याटिङमा नेपालका दुई ओपनरहरू साहिल पटेल र निरज यादवले राम्रो सुरुवात दिलाइरहेका छन् । बलिङमा स्पीनरहरूले निरन्तर राम्रो बलिङ गर्दै नेपालको जितको आधार तय गरिरहेका छन् ।ओमानसँगको दोस्रो खेलमा युवराज खत्रीले ५विकेट लिएका थिए भने यूएईसँग तल्लो मुलपानीमै भएको खेलमा सन्तोष यादवले किफायती बलिङ गर्दै ३ महत्वपूर्ण विकेट लिएपछि वर्षाले प्रभावित खेलमा नेपालले जित निकाल्न सम्भव भएको थियो ।