राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार गत फागुनमा मात्र १ खर्ब ५१ अर्ब २० करोड रुपैयाँ रेमिट्यान्स आएको छ । मासिक रूपमा तुलना गर्दा फागुनमा नेपाल भित्रिएको रेमिट्यान्स हालसम्मकै सबैभन्दा बढी हो । यसअघि गत असोजमा १ खर्ब ४४ अर्ब रेमिट्यान्स भित्रिएको थियो । गत वर्षको फागुनमा रेमिट्यान्स १८.३ प्रतिशतले बढेको थियो ।
गएको आठ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या पनि बढेकाले रेमिट्यान्स वृद्धिमा सहयोग पुगेको हो । गएको आठ महिनामा ३ लाख १७ हजार ६८ ले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् ।सोही अवधिमा २ लाख १७ हजार ४ सय ३ ले पुनः श्रम स्वीकृति लिएको सरकारी तथ्यांक छ । गत वर्षको सोही अवधिमा २ लाख ८५ हजार ३ सय ५२ अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) र १ लाख ८२ हजार ७ सय ८३ ले पुनः श्रम स्वीकृति लिएका थिए ।
गएको एक दशकको तथ्यांक हेर्दा पनि हरेक वर्ष लगातार रेमिट्यान्स बढेको देखिन्छ । जसअनुसार आर्थिक वर्ष ०७१/७२ मा सवा ६ खर्ब रेमिट्यान्स आएकोमा ०७७/७८ मा ९ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा १० खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स आएकोमा ०८०/८१ मा १४ खर्ब ४५ अर्ब पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।