काठमाडौँ- ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री दीपक खड्काले अब लोडसेडिङ नहुने दाबी गरेका छन्।

रसुवामा बनेको ७८ मेगावाटको साञ्जेनखोला जलविद्युत् आयोजनाको बुधबार उद्घाटन गर्दै मन्त्री खड्काले अब नागरिकले लोडसेडिङको समस्या भोग्नु नपर्ने बताएका हुन्।

उनले सरकार नागरिकको घरघर र उद्योगमा २४सै घण्टा बिजुली दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलाग्न पनि आग्रह गरेका छन्।

आफूले कुलमान घिसिङलाई हटाएर उनको ठाउँमा ल्याइएका हितेन्द्रदेव शाक्यलाई एशियाकै अब्बल इञ्जिनियरको दर्जा दिए मन्त्री खड्काले। उनको नेतृत्वमा आगामी दिनमा विद्युत् प्राधिकरणले थप उचाइ लिने विश्वास पनि उनले लिए। सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पूरा गर्न निजी क्षेत्र र दातृ निकायलाई सँगसँगै लिएर हिँड्न चाहेको पनि उनले बताए।

मन्त्री खड्काले जलविद्युत् क्षेत्र सरकारको मुख्य प्राथमिकतामा रहेकाले उत्पादनसँगै निर्यातमा पनि काम गरिरहेको बताए । उनले भारतसँग १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको र बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिसकेको अवस्थामा उत्पादन भएको विद्युत् खेर नजाने भन्दै ढुक्क भएर लगानी गर्न निजी क्षेत्र र दातृ निकायलाई आग्रह पनि गरे। उनले ऊर्जा मन्त्रालयबाट प्राधिकरणलाई पूर्ण सहयोग रहेकाले वर्तमान समस्यालाई चिरेर प्राधिकरणलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
21
Shares
२६ चैत्र २०८१, बुधबार १७:२८