विराटनगर । मोरङ र सप्तरी ‘इक्वालिटी कप क्रिकेट २०२५’ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर– ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथो संस्करणमा लगातार २ खेल जितेका मोरङ र सप्तरीले १ खेल अगावै फाइनलको यात्रा तय गरेका हुन् ।

साबिक विजेता मोरङले इलामलाई ९ विकेटले पराजित गरेको छ । लगातार २ खेलमा जित हात पार्दै ४ अंक जोडेको मोरङ शीर्ष स्थानमा रहँदै फाइनलको यात्रा तय गरेको हो । लगातार २ खेलमा पराजित इलाम प्रतियोगिताबाट बाहिरिएको छ ।

टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित २० ओभरको खेलमा १७.४ बलमा सबै विकेट गुमाई ६२ रनमा सीमित भयो । इलामका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् भने इलामले ४१ रन अतिरिक्त रन पाएको थियो । मोरङकी सानु राजवंशीले २ विकेट लिँदा चाँदनी साह, फुलकुमारी राजवंशी र वन्दना राजवंशीले २–२ विकेट लिइन् ।

६३ रनको झिनो लक्ष्य पछ्याएको मोरङले ५.५ बलमा १ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । मोरङको जितमा प्लेयर अफ द म्याच पूर्णिमा राजवंशीले अविजित ३२ रन बनाउँदा सानु राजवंशी १० रनको योगदान दिइन् । पूर्णिमाले २७ बलमा ६ चौका प्रहार गरिन् । इलामकी रञ्जना लिम्बुले १ विकेट लिइन् ।

दोस्रो खेलमा सप्तरीले सिराहालाई ८ रनले पराजित गरेको छ । सप्तरीले खेलेको दुई खेलमा जित हात पार्दै दोस्रो स्थानमा यथावत् रहँन्दै फाइनलमा प्रवेश गरेको छ । सिराहाले दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । टस जितेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २ रनको सामान्य योगफल तयार पारेको थियो ।

सप्तरीकी प्लेयर अफ द म्याच साक्षी यादवले सर्वाधिक ५७ रन बनाइन् । उनले ५४ बलमा ६ चौका प्रहार गरिन् । सिराहाकी अनुराधा चौधरीले ४ विकेट लिँदा सरस्वती चौधरीले ३ विकेट लिएकी थिइन् ।

१०३ रनको सामान्य लक्ष्य पछ्याएको सिराहाले पुरै ओभर खेल्दै ९ विकेट गुमाई ९४ रन बनाएको थियो । सिराहाकी सरस्वती मुखियाले अविजित १३ रन बनाउँदा प्रसिद्का खडकाले अविजित ११ रन बनाइन् । सप्तरीकी अपेक्षा यादवले ४ विकेट लिँदा साक्षी यादव र सुस्मीता यादवले समान २–२ विकेट लिइन् ।

प्रतियोगितालाई म्यारिलीबोन क्रिकेट क्लब फाउन्डेसन र क्रिकेट विथ आउट बाउण्ड्रीजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियान अन्तर्गत इक्युवालिटी कप क्रिकेट आयोजना भएको हो ।

21
Shares
१९ चैत्र २०८१, बुधबार ०६:५७