विराटनगर । काठमाडौंको तीनकुने, कोटेश्वर र जडिबुटी लगायतका क्षेत्रमा पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भएको हिंसात्मक गतिविधिको खेलसम्बद्ध विभिन्न संस्थाले निन्दा गरेका छन् ।

‘सामाजिक अराजकताका नाइके दुर्गा प्रसाईं र रविन्द्र मिश्रहरुको नेतृत्वमा अराजक झुण्डहरुले देखाएको उदण्डता एवं हिंसा र त्यसले निम्त्याएको जनधनको क्षतिको हामी घोर निन्दा एवं भत्सर्ना गर्दछौं’ ती संस्थाले निकालेको विज्ञप्तिमा भनिएको छ।

मुलुक शान्ति एवं समृद्धिको दिशातर्फ अघि बढिरहेको परिस्थितिमा प्रतिगमनको नाममा मुलुकलाई उल्टो बाटो तर्फ लैजाने असम्भव प्रयास एवं अपराधिक तवरले गरिएको सार्वजनिक तथा निजि सम्पति सवारी साधनहरु, संचार गृह, राजनितिक दलका कार्यालय लगायतमा तोडफोड र आगजनीका साथै आफ्नो कार्यक्षेत्रमा रही रिपोर्टिङ्ग गरिरहेका निर्दाेष संचारकर्मीको हत्या र व्यापारिक प्रतिष्ठान एवं व्याक्तिहरुका घरमा लक्षित गरिएको लुटपाटले सिंगो समाजलाई नै आताकित बनाएको उनीहरुले उल्लेख गरेका छन् ।

नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त सुन्दर व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने खालका कुनै पनि गलत गतिविधिलाई लोकतन्त्रमा बिश्वास राख्ने युवा खेलाडीहरुले कदापी स्विकार गर्न सक्दैनन नेपालको समग्र खेलक्षेत्र र खेलाडीहरुका साथै गणतन्त्रका लागि लड्ने राजनितिक दलका जनसंगठनहरु अराजकता मच्चाउने एवं हिंसा भड्काउनेहरुलाई उनीहरुले चेतावनी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ–

नेपालको संविधान र लोकतान्त्रिक मूल्य मान्यता विपरित गतिविधिहरु स्वीकार्य हुने छैन । हिजो काठमाडौमा ज्यान जाने गरि भएका हिंसात्मक क्रियाकलाप एवं लुटपाटमा संलग्न दुर्गा प्रसाईं र रबिन्द्र मिश्र सहित सबै अराजक तथा आपराधिक व्यक्तिहरुलाई अभिलम्ब कानुनी दायरामा ल्याएर दण्डित गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौ ।

त्यसैगरी लोकतान्त्रिक व्यबस्थालाइ थप मजबुत बनाउन, भएका कमीकमजोरीहरुलाई सच्याउँदै सामाजिक सदभाव एवं स्तायित्व कायम गर्नाका लागि आम जनसमुदाय समक्ष खबरदारी सहितको एकबद्धताका लागि आव्हान गर्दछौ । मुलुकको वर्तमान संघीय लोकतान्त्रिक व्यस्था यो वा त्यो नामको कुनै पनि दुस्प्रयास बाट नढल्ने कुरामा हामी विस्वस्त छौं । किन कि संसारका कुनै पनि मुलुकमा गणतन्त्रिक व्यवस्थाको अर्काे विकल्प हुन सक्दैन । तसर्थ नेपालमा रहेका संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि यस्ता खाले समाजिक अराजकता र अपराधिक गतिविधिको प्रतिरोधामा संस्थागत रुपमा समेत सडकमा उत्रिने चेतावनी दिन चाहन्छौ ।’

विज्ञप्ति जारी गर्नेहरुमा देवेन्द्र शेरचन (लोकतान्त्रिक खेलकुद संघ अध्यक्ष), पर्शुराम वस्नेत (नेपाल खेलकुद महासंघ अध्यक्ष), शिव कोइराला ज्वाला (अखिल नेपाल खेलकुद महासंघ अध्यक्ष तथा केशव कुमार विस्ट (नेपाल खेलकुद महासंघ समाजवादी अध्यक्ष) छन्।

133
Shares
१५ चैत्र २०८१, शनिबार १८:३८