विराटनगर । नेकपा एमालेका उपाध्यक्ष गुरु बराल इमान्दारी, लगनशीलता र निष्ठाको राजनीति गर्ने नेताका रुपमा चिनिन्छन् । एमालेको वैचारिक नेता मानिने बराल विद्यार्थी राजनीति हुँदै पार्टीको माथिल्लो तहसम्म पुग्न सफल भएका हुन् ।

२०४६ देखि २०६४ सम्म पार्टी राजनीतिमा प्रभावशाली नेताका रुपमा बराल सक्रिय थिए । इमान्दारी, लगनशीलता र निष्ठानको राजनीति गर्ने गुरु बराल नेकपा एमालेको राजनीतिमा करिब ५० वर्षदेखि सक्रिय छन् ।

२०४४ सालमा नेकपा माले मोरङको सचिव बनेका बराल त्यसयता लगातार पार्टीका विभिन्न कमिटीमा आवद्ध भएर काम गरिरहेका छन् । पार्टीको संगठन निर्माण र विस्तारका लागि उनले गाउँ गाउँमा अभियान पनि चलाएका थिए ।

२०४६ सालको जनआन्दोलनपछि नेता बराल एमाले मोरङको सचिव भएका थिए । त्यसपछि २०४९ देखि २०७८ सम्म लगातार पार्टीको केन्द्रिय कमिटीमा रहँदै आएका छन् ।

२०५२ सालमा तत्कालीन मोरङ क्षेत्र नम्बर ६ बाट संसदीय निर्वाचनमा विजयी भएका बराल पार्टीको १०औं महाधिवेशनबाट केन्द्रिय सदस्य हुँदै पार्टीको स्थायी कमिटी सदस्य बनेका हुन् ।

२९ असार २०८० मा एमालेले बराललाई पार्टीको बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको थियो । एमालेको वैचारिक नेता मानिने बराल विद्यार्थी राजनीति हुँदै पार्टीको जिल्ला सचिव बनेका थिए ।

२०५१ सालपछि २०७८ सालसम्म बरालले पाँच वटा चुनावमा प्रतिस्पर्धा गरेका थिए । २०७८ सालमा राष्ट्रियसभा निर्वाचनमा कोशीबाट उम्मेदवार बन्ने अवसर पाएका थिए । २०७९ को स्थानीय र प्रदेशसभा निर्वाचनमा मोरङमा टिकट बाँड्ने जिम्मेवारीमा बराल रहेका थिए । यसैगरी, २०५४ सालमा उनी कोशी प्रदेशमा नेता कार्यकर्ताको मूल्यांकन गरी टिकट बाँड्ने जिम्मेवारीमा थिए ।

बराल मदन भण्डारी स्मृति प्रतिष्ठानका संस्थापक हुन् । २०३१ सालको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सदस्य निर्वाचित बराल त्यस बेला विद्यार्थीमाझ निकै लोकप्रिय थिए ।

राजतन्त्रका पक्षमा देशमा विभिन्न मागमा प्रदर्शन भइरहेको सन्दर्भमा नेकपा एमालेले काठमाडौं, विराटनगरलगायत देशैभरि गणतन्त्रका पक्षमा जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।

खासगरी पूर्व राजा ज्ञानेन्द्र शाह देशका विभिन्न स्थान पुगेर आफ्नो पक्षमा समर्थन जुटाउन सक्रिय भइरहेका छन् । राप्रपा र राजावादी अरु संगठनहरुले मोटरसाइकल र्याली, जुलुस, सभा र छलफल कार्यक्रमलाई तीव्र बनाएका छन् ।

पूर्वराजाको सक्रियता र राजावादीहरुको प्रदर्शनका कारण नेकपा एमाले र अन्य मुख्य दलहरुमा एक खालको तरंग पैदा भएको छ । यस्ता गतिविधिबाट मुलुकमा अस्थिरता बढ्ने भन्दै दलहरुले पूर्वराजालाई हिम्मत भए निर्वाचनमा लडेर आउन सुझाव पनि दिइरहेका छन् ।

यस क्रममा वडादेखि पालिका, नगर, महानगर र सहरका विभिन्न स्थानहरुमा प्रदर्शन, अन्तरक्रिया र कार्यकर्ता भेला जस्ता कार्यक्रम पनि राखिएका छन् । पार्टीको यो अभियानमा पनि बरालले सक्रियतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्दै कार्यकर्ता परिचालन गर्ने बताएका छन् ।

3.7k
Shares
१३ चैत्र २०८१, बिहीबार १४:२७