लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको खेलमा पुलिस क्लबले कर्णाली प्रदेशलाई हराएसँगै पुलिसको अपराजित यात्रा कायमै रहेको छ।
पुलिसले दिएको १४८ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेशले सुरुवात राम्रो गरे पनि ललितनारायण राजवंशीको कसिलो बलिङमा कर्णाली २४ ओभरमा अलआउट हुँदै १०३ रनमा समेटियो।कर्णालीका लागि रविन्द्र शाहीले राम्रो सुरुवात दिलाए पनि त्यसपछिका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। रविन्द्रले ३२ बलमा २ छक्का र ७ चौकाको मद्दतमा ४९ रन जोडेर सागर ढकालको बलमा बोल्ड भए।
त्यसपछि अर्जुन घर्तीले पारी उकास्ने कोसिस गरे पनि पुलिसले ३० रनमा पभेलियन फर्कायो। अर्जुनले ४२ बलमा १ छक्का र ३ चौकाको सहयोगमा ३० रन जोडेर ललितको बलमा क्याच आउट भए।सुनिल धमला २ रन, राज शाह ४ रन, दिपेन्द्र रावत ३ रन, दिनेश अधिकारी १ रन, प्रकाश जैशी १ रन, अनुज चनरा १ रनमा आउट भए।
ललितले राज शाह, दिपेन्द्र रावत, अर्जुन घर्ती, दिवान पुन, प्रकाश जैशी, दिनेश अधिकारीलाई आउट गर्दै ९ ओभरमा ४१ रन खर्चेर ६ विकेट हात पारे। सागर ढकालले २ विकेट लिँदा करण केसीको नाममा एक विकेट रह्यो।
जारी प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिन सफल ललित प्लेयर अफ द म्याच भए। उनी प्रधानमन्त्री कप क्रिकेटमा सय विकेट लिने पहिलो खेलाडी पनि बनेका छन्। उनले हालसम्म १०३ विकेट लिइसकेका छन् भने जारी प्रतियोगितामा ८ खेलमा ३६ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन्।
यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल पुलिस क्लबले ४८ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको थियो।
पुलिसका लागि अर्जुन साउदले सर्वाधिक ३६ रन जोडे। उनले ६० बल खेल्दै ४ चौकाा र १ छक्काको मद्दतमा ३६ रन बनाएर क्याच आउट भए। यस्तै, दीलिप नाथले ५९ बलमा २ चौकासहित ३४ रन बनाएर दिवान पुनको बलमा एलबीडब्लू भए।
पुलसिका लागि ९ विकेट गएको अवस्थामा श्रवण यादव र सागर ढकालले ३९ रनको साझेदारी गरे मध्यम लक्ष्यमा पुर्याए।
अन्तिम विकेटका रुपमा आएका सागर ढकालले अविजित २२ रन जोडे।
पुलिसका लागि कुशल भुर्तेलले १ रन, अमित श्रेष्ठ ७ रन, आरिफ शेख २ रन, गुल्सन झा ८ रन, ललित राजवंशी ७ रन, करण केसी ६ रन, श्रवण यादव ११ रन बनाएर आउट हुँदा कप्तान दिपेन्द्रसिंह ऐरी पहिलो बलमा बोल्ड भए।
कर्णालीका लागि अर्जुन चनाराले ४ विकेट लिँदा कप्तान दिवान पुनले ३ विकेट लिए। यसैगरी दिनेश अधिकारी, दिपेन्द्र रावत, सुनिल धमलाले समान १–१ विकेट लिए।
दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अपराजित रहँदै नेपाल पुलिस क्लब अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।
कर्णाली प्रदेश टीम पाँचौं स्थानमा रहेको छ। अहिलेसम्म ८ खेल खेलिसकेको पुलिस क्लब ८ खेलमा शतप्रतिशत जित निकाल्दै १६ अंकका साथ शीर्ष स्थानमा रहँदा ९ खेल खेलिसकेको कर्णाली प्रदेश ४ खेलमा जित र ५ खेलमा हार व्यहोर्दै ८ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा छ।
योसँगै दाङमा १४ खेल सकिएका छन्। अबका बाँकी खेल रुपन्देहीमा हुनेछन्। प्रतियोगिताको फाइनल खेल चैत १६ गते सिद्धार्थ क्रिकेट रंगशालामा हुनेछ।