शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले संविधानसभाबाट राजा हटाएकोले आउने सम्भावना नरहेको बताए।
‘कतिपय मान्छेले राजतन्त्र आयो भने के बिग्रिन्छ? खास गरेर अहिले हिन्दु कट्टरपन्थी शक्तिहरुले हिन्दु राजा ल्याएपछि आफ्नो धार्मिक आस्थाको रक्षा हुने बालसुलभ सोचाइ राख्छन्। उनीहरुप्रति हाम्रो भनाइ के छ भने राजतन्त्र आउनु भनेको संविधान भत्काउनु हो,’ उनले भने।उनले थपे, ‘संविधानसभाले जहाँ नेपाली जनतालाई सार्वभौम बनाएको छ, यो संविधान नै भत्कियो भने सार्वभौमसत्ता नै गयो। अनि त्यो खाली ठाउँ कसले भर्ने? बाहिरी शक्तिले कि सेनाले? कि अन्य शक्तिले? देश त फेरि अस्थिरतातर्फ फस्छ। यो जटिल भूराजनीति भएको मुलुक फेरि अस्थिरतातर्फ गयो भने देशको सार्वभौमसत्ता नै गम्भीर समस्यामा पर्छ।’
भट्टराईले मधेसी जनताले आफ्नो अधिकार र पहिचानका निम्ति सबैभन्दा बढी बलिदानी दिएको उनको भनाइ थियो। उनले भने, ‘राजतन्त्र भनेको एउटा खास जाति विशेषको पुरुष राजा हुने प्रथा हो। त्यसमा सार्वभौमसत्ता निहित हुने भएकोले त्यसले स्वतः संघीयता खारेज गर्छ।’उनले नेपाल बहुलजातीय, बहुभाषिक, बहुसाँस्कृतिक देश भएकोले सबैको बीचमा एकता कायम गर्नुपर्ने बताए।
भट्टराईले अहिले कांग्रेस, माओवादी र एमालेले पालैपालो कुशासन दिने काम गरेको भन्दै उनीहरुले देशमा सुशासन र समृद्धि ल्याउन नसकेको बताए।