महोत्सवको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम बनाएर आगामी आर्थिक वर्ष २०८२ / ०८३ को बजेटमार्फत प्रदेशमा भएका ढाका उद्योगलाई अघि बढाउने गरी बजेट विनियोजन गर्ने बताए ।
उनले त्यसका लागि ढाका उद्योगले भोग्नु परेका समस्या र चुनौतीका विषयमा सरकारलाई राय सुझाव दिन आग्रह गरे ।प्रदेश सरकारले ढाका महोत्सवलाई सधैँ साथ र सहयोग दिन तयार रहेको बताउँदै, मुख्यमन्त्री कार्कीले भने, ‘यो साथ र सहयोग भोलिका दिनमा रहने छ । अहिले पनि प्रदेशको ३ वटा मन्त्रालय महोत्सवमा जोडिएको छ । ढाका उद्योगले भोग्नु परेका समस्यालाई प्रदेश सरकारले सम्बोधन गर्न सक्ने भए यहाँबाटै र केन्द्रबाट गर्नुपर्ने भए म त्यसका लागि केन्द्र पनि पहल गर्छु ।’
ढाका उद्योगको विकास, विस्तारका लागि प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गरेर अघि बढ्ने मुख्यमन्त्री कार्कीले बताए ।सो अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रत्येक वर्ष ढाका महोत्सवलाई निरन्तरता दिने बताए ।
उनले ढाका कपडाको प्रवर्धन, स्थानीय महिला उद्यमीहरूको क्षमता अभिवृद्धि, व्यापारिक सम्भावनाको खोजी तथा नेपाली महिलालाई उद्यमशीलतामा सशक्त बनाउनका लागि कोशी प्रदेशमा पहिलो पटक ढाका महोत्सवको आयोजना गरेको प्रस्ट्याए ।
नेपालसहित अन्तर्राष्ट्रिय बजार उपलब्ध गराएर स्थापित गराउने उद्देश्यका साथ ढाका महोत्सवको आयोजना गरिएको राउतले बताए । महोत्सवमा ढाका कपडाको प्रदर्शनी, फेसन सो, व्यापार तथा लगानी प्रवर्धन, व्यवसायिक अवसरबारे छलफल, संवाद कार्यक्रम, ढाका बुनाइ तथा तान बुन्ने प्रतियोगिता हुनेछ ।
महोत्सवमा कोशी प्रदेशको तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, संखुवासभालगायत क्षेत्रका ढाका उद्यमीहरुकाे सहभागिता रहेकाे छ । ढाका महोत्सवमा १४ जिल्लाको २६ वटा स्टल रहेको छ ।