विराटनगर । कोशी प्रदेशसभाको चालु एवं छैटौं अधिवेशन अन्त्य भएको छ । प्रदेशाके मन्त्रिपरिषद्ले सिफारिस गरेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले अधिवेशन अन्त्य गरेका हुन् । एक्कासि अधिवेशन अन्त्य गरेपछि नेकपा (माओवादी केन्द्र)ले भने आपत्ति जनाएको छ । आफ्नो असक्षमताका विषयमा सार्वजनिक आलोचना हुने भएपछि सरकारले अधिवेशन अन्त्य गरेको दाबी माओवादीको छ ।

अधिवेशन अकस्मात अन्त्य गर्ने निर्णय ‘संसदीय परम्पराविपरीत’ रहेको माओवादीले बताएको छ । ‘दोस्रो प्रदेशसभा गठन भएको २ वर्ष पूरा भइसक्दासमेत प्रदेशसभा सञ्चालन नियमावली पारित गर्ने प्रयास नहुनु आश्चर्यजनक छ । साथै, सांसदहरूले गैरसरकारी विधेयकको रूपमा प्रदेशको कामकाजी भाषा सम्बन्धी विधेयक दर्ता गरे पनि त्यसलाई छलफलमा लैजानु त परै जाओस् । बैठकमै पेस नगरी अधिवेशन अन्त्य गर्नु सरकारको कानुन निर्माणप्रति असंवेदनशीलता दर्शाउँछ,’ माओवादी प्रमुख सचेतक गीता तिम्सिनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,‘सरकारको कामकारबाहीप्रति जनस्तरमा असन्तुष्टि बढिरहेका बेला प्रदेशसभा सदस्यहरूले उठाएका गम्भीर प्रश्नहरूलाई बेवास्ता गर्दै अधिवेशन अन्त्य गर्नु अत्यन्त आपत्तिजनक छ ।’

सरकारप्रति जनताको विश्वास खस्कँदै गएको अवस्थामा जनताको सरोकार र मुद्दा उठ्ने प्रदेशसभाजस्तो लोकतान्त्रिक मञ्चलाई निष्क्रिय बनाउनु गम्भीर भएको माओवादीको दाबी छ । ‘यसले सरकारको असफल कार्यक्षमता उजार मात्र गरेको छैन,’ माओवादीले भनेको छ,‘ जिम्मेवारी पूरा गर्न पूर्ण रुपमा असफल भएको देखिएको छ ।’
7
Shares
७ चैत्र २०८१, शुक्रबार ०९:३३