आजको खेलमा नेपालको राष्ट्रिय टोलीका अधिकांश सदस्यसम्मिलित दुई टीमबाट मैदानमा उत्रिने हुँदा प्रतिष्पर्धा भव्य हुने देखिएको छ । नेपाल पुलिस क्लबको कप्तानी कप्तान दिपेन्द्र सिंह ऐरीले र मधेश प्रदेश टीमको कप्तानी अनिलकुमार साहले सम्हालेका छन् । प्रतियोगिताको १७ औँ खेल अन्तरगत देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दुई टीम जीतको खोजीमा हुनेछन् ।
पुलिस क्लब लगातार ३ खेलमा जीत निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा छ भने आजको खेल जित्दै शीर्ष स्थानमा उक्लिन चाहन्छ । मधेश प्रदेशको टीम पनि बलियो मानिएको पुलिस क्लबलाई हराउँदै अंक तालिकामा सुधार गर्दै माथि उक्लिन चाहन्छ । मधेश प्रदेश अंकको तालिकाको पाँचौँ स्थानमा छ ।विभागीय टीम पुलिस क्लबले हिजो मात्रै डर्बी एपीएफलाई २ विकेटले हराएको थियो भने यसअघि कोशी प्रदेशलाई १५४ रन र लुम्बिनी प्रदेशलाई ८७ रनले हराउँदै पिएम कपको दावेदारी देखाइरहेको छ ।
यसैगरी, मधेश प्रदेशको टीमले खेलेको दुई खेलमा एकमा जीत र एकमा हार व्यहोरेको छ । जसमा कोशी प्रदेशलाई १६५ रनले हराएको थियो भने एपीएफसँग २ विकेटले पराजित भएको थियो ।प्रतियोगिताको तेस्रो खेल खेलीरहेको मधेशले आजको खेलमा एपीएफसँगको खेलमा गरेको कमजोरी सुधार गर्दै खेल्ने रणनीति बनाएको छ । पुलिस क्लब भने लगातारको जीतलाई निरन्तरता दिने रणनीतिका साथ मैदानमा उत्रिँदैछ । खेललाई मध्यनजर गर्दै लमहीमा भइरहेको पिएम कपको व्यवस्थापन हेरिरहेको दाङ जिल्ला क्रिकेट संघले दर्शकहरूका लागि भिआईपी टिकट बाहेक अरु टिकट निशुल्क गरेको छ ।
हिजोदेखि दर्शकहरूलाई खेल मैदानमा उपस्थित भइ हेर्न पूर्व गेट र पश्चिम गेटबाट प्रवेश निशुल्क गरिएको छ ।
नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगिता अन्तर्गत आज हुने एपीएफ क्लब र नेपाल पुलिस क्लब बिचको खेलका लागि भिआईपी टिकट शुल्क २ सय रुपैयाँ रहेको र अरु टिकटको हकमा निशुल्क प्रवेश गरिएको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष तथा क्यान केन्द्रीय सदस्य प्रदीप मजगैँयाले जानकारी दिए ।
३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलिरहेका छन् । दाङसहित रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ सुरु भएको प्रतियोगिताका खेलहरु राउण्ड रोविनका आधारमा भइरहेका छन् । हरेक टीमले एक अर्को टीमसँग खेल्नेछन् । आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिता अन्तर्गत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ ।