विराटनगर । नेकपा एमाले निकट अनेरास्ववियुका नेता नवीन पहाडीले विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आफ्नो संगठनका उम्मेदवारहरु विजयी हुने विश्वास व्यक्त गरेका छन्।

उनी २०७९ सालको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा उम्मेदवार बनेका थिए । तर तत्कालीन केही कारण र आन्तरिक रुपमा खिचातानी र असहयोग भएकाले सोचेजस्तो नतिजा हात पार्न नसकिएको उनको भनाइ छ।

विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्यामपसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका तर्फबाट अनिश बोगटी सहितको टिमले प्रतिस्पर्धा गर्दैछ ।

अध्यक्षमा बोगटी, सचिवमा रिङ्कुकुमारी चौधरी र कोषाध्यक्षमा मन्दिप पोखरेल उम्मेदवार बनेका छन्। यसैगरी सदस्यहरुमा प्रवीण घिमिरे, कृपा बुढाथोकी, शैलेन्द्र साह, रोमान्सकुमार खवास, जुनेश नेपाल, उदयप्रसाद गुप्ता रौनियार, कृताञ्जली श्रेष्ठ र सुमन खड्कालाई उम्मेदवार बनेर चुनावी मैदानमा होमिएका छन् ।

त्रिविले स्ववियु निर्वाचनको प्रचारप्रसारका लागि फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्मका लागि समय तोकेको छ। निर्वाचन आगामी चैत ५ गते हुँदैछ।

एएमजी टाइम्ससँगको कुराकानीमा नेता पहाडीले यसो भनेका छन्–

२०७९ सालको निर्वाचनमा हाम्रो संगठनबाट सचिवसहित १९ सदस्यहरु निर्वाचित भएका थिए । तर हाम्रा नेताहरुका स्वार्थ र आग्रह, पूर्वाग्रहका कारण हाम्रो तर्फबाट निर्वाचित भएका सचिव अहिले छैनन् ।

उनी नहुँदा क्याम्पसमा हाम्रो सांगठनिक अवस्था कमजोर भइरहेको थियो । अब सुधार गर्ने उद्देश्यले सबैको सल्लाह अनुसार संगठनको तर्फबाट अनिश बोगटीलाई अध्यक्ष पदमा उम्मेदवार बनाएका छौं ।

समावेशी रुपमा महिला, मधेसीलगायत विभिन्न संकायमा अध्ययनरत युवा उम्मेदवारहरुको राम्रो र योग्य टिम बनाएर निर्वाचनमा होमिएका छौं । हामीले निर्वाचनबाट सोचेअनुरुप नतिजा प्राप्त गर्न सक्छौं भन्ने विश्वास छ ।

नेविसंघ भित्रको आन्तरिक द्वन्द्वका कारण पनि हामीलाई सहयोग पुग्ने छ। निर्वाचन भनेको सिक्ने सिकाउने माध्यम पनि हो । कतिपय कुरा सिक्दै जाने कुरा हुन्छ ।

210
Shares
३० फाल्गुन २०८१, शुक्रबार २०:२३