विराटनगरमा रहेको लक्ष्मीनारायण मन्दिरमा पञ्चकुण्डात्मक पाञ्चाह्रिक महायज्ञ हुने भएको छ। मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष कुमार खतिवडाका अनुसार भारतको हैदराबादबाट श्री श्री श्री त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्न जियर स्वामीजीको विशेष आतिथ्यतामा यज्ञ हुन लागेको हो।

बिहीबार मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष खतिवडाले महायज्ञ चैत १ देखि ५ गतेसम्म यज्ञ हुने जानकारी दिए। यज्ञमा दैनिक ५ हजार भक्तजन उपस्थित रहने खतिवडाको भनाई छ।

सोही क्रममा सामूहिक व्रतबन्धको समेत आयोजना गरिने उनले बताए। पत्रकार सम्मेलनमा कोशी प्रदेशका सांसद भीम पराजुलीले विराटनगरमा आउन लाग्नु भएका चिन्न जियर स्वामीको स्वागतमा हुने सबै काम सम्पन्न भएको बताए।

यस्तै, मन्दिरका सल्लाहकार तथा धार्मिक गुरु स्वामी रामानुज नेपालले भागवत आराधना, प्रबन्ध पाठ हवन, प्रवचन तथा महाउत्सव हुने प्रस्टाए। यज्ञस्थलमा ५ दिन विभिन्न धार्मिक अनुष्ठानसहित अरणिमन्थन, अग्नि प्रतिष्ठा, भगवानका सेवा आराधना, वेद, इतिहास, पुराण, स्त्रोत्रलगायतका कार्यक्रम हुने बताइएको छ।

14
Shares
३० फाल्गुन २०८१, शुक्रबार ०७:१९