बुधबार दिउँसो निर्वाचन कार्यालयमा आगजनी गरी ताला लगाएको हो । डाक्टर कोइराला समूहका विद्यार्थीले लगाएको ताला भने प्रहरीले फोडेको छ । निर्वाचन कार्यालयमा आगो लगाउँदा केही कागजात जलेका छन् ।
स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघबाट संस्थापन पक्षबाट प्रज्वल विष्ट र डाक्टर शेखर कोइराला समूहबाट योगराज दाहालले उम्मेदवारी दिएका थिए । मंगलबार अबेर राति सार्वजनिक अन्तिम उम्मेदवारको सूचीमा कोइराला समूहका उम्मेदवार दाहालकाे नाम स्वतन्त्र उम्मेदवारकाे सूचीमा थियाे । पार्टीका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार बनाएको विरोधमा कोइराला समूहका विद्यार्थीले तालाबन्दी गरेका थिए ।कोइराला समूहका विद्यार्थीले लगाएको ताला प्रहरीले खोलेको महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत सुशील अधिकारीले जानकारी दिए । उनका अनुसार आगो चाडै निभाएका क्षति भएको छैन । ‘निर्वाचनको तयारी राम्रै छ, तर आकस्मिक रुपमा विद्यार्थीहरुले आएर निर्वाचन कार्यालयमा आगजनी र तालाबन्दी गर्नुभयो,’ उनले भने,‘ आगोले सामान्य केही कागजहरू जलेका छन् ।’
विद्यार्थीले अधिकारीलाई भित्रै राखेर बाहिरबाट तालाबन्दी गरेका थिए । त्यसपछि प्रहरीले ताला फोडेर उनलाई बाहिर निकालेको थियो । गत फागुन १५ गते नेविसंघ मोरङ जिल्ला सभापति सरोज पोखरेललाई महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन स्ववियु सभापति जसवन्त पौडेलसहितका समूहले क्याम्पस परिसरमा निर्घात कुटपिट गरेको थियो । त्यसपछि नेविसंघको संस्थापन र इतर समूह बीचको विवाद उग्र भएको थियो ।महेन्द्र मोरङको स्ववियु सभापतिमा नेवि संघबाट विष्ट, अखिल क्रान्तिकारी बाट रोहित यादव, अनेरास्ववियुबाट अनिष बोगटी उम्मेदवार छन् । त्यस्तै योगराज दाहाल, सनिम ठकुरी र अनिष राई पनि सभापतिकाे उम्मेदवार छन् ।