काठमाडौँ । सातौँ संस्करणको प्रधानमन्त्री कप (पीएम) कप क्रिकेट प्रतियोगिता आजबाट लुम्बिनी प्रदेशमा सुरु हुँदै छ। लुम्बिनी प्रदेशका ३ वटा क्रिकेट मैदानमा केहीबेरपछि सुरु हुने खेललाई विश्वकप लिग-२ को तयारीका रुपमा समेत हेरिएको छ।

सन् २०१७ मा पहिलो पटक आयोजना भएको पिएम कपको यो सातौं संस्करण हो। यो पटक सबै खेल लुम्बिनी प्रदेशमा आयोजना हुन लागेको हो। लुम्बिनी प्रदेशले पिएम कपका सबै खेल आयोजना गर्न पाएको यो पहिलो अवसर हो। प्रतियोगिता आजबाट चैत १६ गतेसम्म सञ्चालन हुने छ।

प्रतियोगिता रुपन्देहीको भैरहवास्थित सिद्धार्थ अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदान र दाङको लमहीस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने छ। प्रतियोगिता अन्तरगत हुने ४६ खेलहरूमध्ये सिद्धार्थ रंगशालामा १७, एक्स्ट्राटेकमा १५ र लमहीमा १४ खेल खेलाइने छ। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी कुल १० टोलीहरूको सहभागिता रहेको छ।

खेलहरू सिंगल राउन्ड रोबिनका आधारमा हुने छ। लिग चरणमा सबै टोलीले एक आपसमा खेलेपछि शीर्ष २ टोलीका बीच फाइनल खेल हुने छ। प्रतियोगिताको पहिलो दिन आज तीन खेल हुँदै छन्। आइतबार सिद्धार्थ रंगशालामा कोशी प्रदेश र लुम्बिनी प्रदेश, एक्स्ट्राटेकमा वागमती प्रदेश र एपिएफ तथा लमहीमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशवीच खेल हुँदै छ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, कोशी प्रदेश, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ।
7
Shares
२५ फाल्गुन २०८१, आईतवार ११:३२