काठमाडौं । तस्करीको २० किलो चाँदीसहित ५ जना पक्राउ परेका छन् । काठमाडौंमा राजस्व छली गरेर चाँदी भित्राइएको सूचना पाएलगत्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट बाराका ३४ वर्षीय सन्तोषकुमार साह, ३५ वर्षीय प्रेमकुमार कुशवाहा, २६ वर्षीय गणेश साह र २१ वर्षीय विपना सार्की तथा पर्साका ३२ वर्षीय दीनानाथकुमार साह पक्राउ परेका हुन् । उनीहरुलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।
कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार पक्राउ परेकाहरुको साथबाट २० किलो चाँदीसहित पैसा गन्न प्रयोग हुने मेसिन १ थान, डिजिटल तराजु २ थान, मोटरसाइकल ४५ थान र विभिन्न कम्पनीका ६ थान मोबाइल बरादम भएको छ । पक्राउ परेकालाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागको जिम्ममा लगाइएको उनले बताए । आचार्यका अनुसार यस विषयमा प्रहरीले पनि विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।