उनका अनुसार मतदानका लागि मतपत्र छपाइलगायतका सबै तयारी पूरा भइसकेको छ । मतदान अपरान्ह ४ बजेसम्म चल्ने उनको भनाइ छ । चुनाव सकिएपछि पार्टी कार्यालय पाञ्चालीमा मतगणना गरेर अन्तिम परिणाम सार्वजनिक गरिने श्रेष्ठले बताए ।
पार्टीको जिल्ला नेतृत्व चयनका लागि हुनुपर्ने निर्वाचन पटकपटक सर्दै आएको छ । एमाले मोरङको १० औं जिल्ला अधिवेशन फागुन १७ गतेदेखि सुरु भएको थियो । सोमबारसम्ममा नयाँ नेतृत्व चयन गरेर अधिवेशन सम्पन्न गर्ने तयारी थियो ।त्यसपछि मतदानको समय मंगलबारलाई सारियो । उम्मेदवारी दिनेको संख्या धेरै भएको र विविध प्राविधिक समस्या आएको भन्दै निर्वाचन समितिले समयमा मतदान सम्पन्न गर्न सकेन । अर्कोतर्फ सहमतिको प्रयासका नाममा पनि मतदानको समय सार्ने काम भइरहेको थियो ।
एमाले मोरङको १० औं जिल्ला अधिवेशनबाट ५ जना पदाधिकारीसहित १ सय ६५ सदस्यीय नयाँ जिल्ला समिति चयन हुने छ । जसमध्ये ७१ जना सदस्य सर्वसम्मत निर्वाचित भइसकेका छन् । पदाधिकारीसहित ९४ पदका लागि मतदान हुने छ ।